४, बैशाख २०८२
बाँके । नेपालगञ्जमा यही वैशाख ५ गतेदेखि सुरु हुने सर्वाधिक राशीको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता विद्यार्थीहरूका लागि विशेष छुटसहितको टिकट योजना ल्याइएको छ। आयोजक संस्था अन्तरालका अनुसार सामान्य (नर्मल) प्यारापिटतर्फको रु. २०० मूल्य पर्ने टिकट विद्यार्थीहरूलाई ५० प्रतिशत छुटमा अर्थात् रु. १०० मै उपलब्ध गराइनेछ।
त्यस्तै, भीआईपी प्यारापिटतर्फ सिजनल टिकटको मूल्य रु. १५ सय तोकिएको छ, जुन टिकट लिने दर्शकले जुनसुकै दिन आए पनि आफ्ना सिट सुरक्षित पाउनेछन्। आयोजकका कार्यकारी निर्देशक जयनारायण शाहका अनुसार टिकट ई-सेवा अनलाइनमार्फत, नेपालगञ्ज रंगशालाको मूल गेट बाहिरको काउण्टर तथा नेपालगञ्जका विभिन्न क्याफेहरूमा रहेका टिकट काउन्टरमार्फत खरिद गर्न सकिनेछ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगितामा भारतको सिलगुडी फुटबल क्लबसहित आठ टिम सहभागी हुनेछन्। बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ टिम समेत प्रतिस्पर्धामा उत्रनेछन्।
मिडिया संयोजक निरज गौतमका अनुसार विजेता टिमले रु. ५ लाख ५ हजार ५५५ र उपविजेता टिमले रु. २ लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिता वैशाख ५ गतेदेखि १२ गतेसम्म नेपालगञ्ज रंगशालामा सञ्चालन हुनेछ। भव्य र सभ्य बनाउन रंगशालाको सरसफाइ, रंगरोगन, खेलाडीको आवास, यातायात लगायत सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।