बाँके ।चैतको अन्त्यतिर आएको हावाहुरी र बेमौसमी वर्षाले बाँके जिल्लाका इँटा उद्योगहरूमा करिब सात करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ। नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वलीका अनुसार, चैत २८ , २९ र ३० गते आएको असिनासहितको वर्षाले जिल्लाका ३० भन्दा बढी इँटा उद्योगमा राखिएका १ करोड ५० लाख काँचो इँटा पूर्णरूपमा नष्ट भएका छन्।
श्रद्धा, चाचा, चाँद, देउतीलगायतका प्रमुख इँटा उद्योगमा सबैभन्दा बढी क्षति पुगेको छ। पकाउने तयारीमा राखिएका काँचो इँटा वर्षा र हावाहुरीका कारण ८० प्रतिशतभन्दा बढी नष्ट भएका छन्। अध्यक्ष वलीका अनुसार, एउटा काँचो इँटा बनाउन औसत ५ रुपैयाँ खर्च लाग्ने भएकाले कुल क्षति ७ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका सचिव सूर्यमणि पौडेलका अनुसार, भर्खरै सुक्नका लागि खुला चौरमा राखिएका काँचो इँटा र केही भट्टाभित्र रहेका इँटा समेत पूर्णरूपमा नष्ट भएका छन्। श्रद्धा इँटा उद्योगका सञ्चालक सुधिरप्रताप सिंहले मात्र आफ्नो उद्योगमा १० लाखभन्दा बढी इँटा गलेर नष्ट भएको जनाउँदै, करिब ५० लाख रुपैयाँभन्दा बढीको व्यक्तिगत क्षति भएको बताउनुभयो।
व्यवसायी सिंहले पीडा पोख्दै भन्नुभयो “हरेक वर्ष बेमौसमी वर्षाले क्षति पुर्याउँछ तर सरकारी निकायबाट कहिल्यै राहत पाइँदैन। बैंकले ब्याजको लागि फोन गर्छ तर नोक्सानी बुझ्न कहिल्यै फोन गर्दैन।”
चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले पनि वर्षाले इँटा उत्पादनमा ठूलो असर पार्ने र बजारमा इँटाको मूल्य बढ्ने बताउनुभएको छ। यस्तै, संघले बर्सेनि दोहोरिने यस्तो क्षति रोक्न काँचो इँटाको बीमा प्रणाली लागु गरिनुपर्ने माग राख्दै आएको छ। तर, सम्बन्धित निकायले अहिलेसम्म सुनुवाइ नगरेको व्यवसायीहरूको गुनासो छ।
संघका अध्यक्ष वलीले भन्नुभयो, “हामी वर्षौँदेखि काँचो इँटाको बीमा हुनुपर्छ भनेर माग गरिरहेकै छौं, तर कसैले गम्भीरतापूर्वक लिन चाहेन। यस्तो बेमौसमी विपत्तिमा हामी व्यवसायीहरू एक्लै संकट बेहोर्न बाध्य छौं।”