३१, चैत्र २०८१
बाँके । गर्मीयामसँगै आगलागी तथा डढेलोका जोखिम बढ्ने अनुमान गर्दै बाँके जिल्लाभरका दमकललाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लाका आठवटै स्थानीय तहमा दमकल, चालक, इन्धन र पानीसहित तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दमकल परिचालन र जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिइएको जानकारी दिँदै भन्नुभयो “तीव्र गतिमा आगो निभाउने प्रयास गर्न सबै दमकललाई सतर्क अवस्थामा राखिएको छ।” हाल नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक–एकवटा गरी जम्मा पाँचवटा दमकल रहेका छन्। बाँकी पाँच स्थानीय तहमा भने दमकलको अभाव छ।
यसका अतिरिक्त, नेपालगन्ज विमानस्थलमा दुई र नेपाल आयल निगम राँझामा एकवटा दमकल छन्, जसले जिल्ला भित्र र आसपासका क्षेत्रमा सेवा दिँदै आएका छन्।
बैठकले फायर इमर्जेन्सी तथा फायर फाइटिङसम्बन्धी तालिम प्रदान गर्न सम्बन्धित व्यक्ति तथा सुरक्षाकर्मीलाई प्रशिक्षण दिन प्राविधिक सहयोगको व्यवस्था गर्ने निर्णय गरेको छ। तालिम सञ्चालनमा डिएलएसएले सहजीकरण गर्नेछ।
गर्मी याममा डढेलो र आगलागीका घटना बढ्ने भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि विभिन्न कदम चाल्ने निर्णय गरेको छ। यस अन्तर्गत डिभिजन वन कार्यालयमार्फत कार्ययोजना निर्माण, जनचेतनामूलक सन्देश प्रकाशन/प्रसारण, तथा आवश्यक उपकरणहरूको व्यवस्थापन गरिनेछ।
आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, आगलागी प्रभावित छ परिवारलाई हालसम्म ३५ हजार ५०० रुपैयाँ राहत वितरण भइसकेको छ। साथै, डुडुवा गाउँपालिकाको इलाका प्रहरी कार्यालय वनकट्टी (ख) मा क्षति पुगेपछि दुई थान टेन्ट र चार थान त्रिपाल वितरण गरिएको छ।
बैठकमा यही चैत २७ गते रातिको हुरीबतास र २७–२८ गतेको वर्षाले पुर्याएको क्षतिको विवरणसमेत प्रस्तुत गरिएको थियो। बैठकले सबै निर्णयलाई औपचारिक रूपमै अनुमोदन गर्दै तदनुसार कार्यान्वयन अगाडि बढाउने जनाएको छ।