३१, चैत्र २०८१
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माणका लागि सन् २०२३ जुनमा नेपाल–भारतबीच सम्झौता भएको थियो ।
सुख्खा बन्दरगाह अब वास्तवमै अगाडि बढ्ने चरणमा पुगेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजनाले सुदूरपश्चिमको व्यापारिक र औद्योगिक सम्भावनामा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो सुख्खा बन्दरगाह निर्माणका लागि भारतले २०२५ जनवरीमा बोलपत्र आह्वान गरिसकेको छ, अनुमानित लागत दुई अर्ब ५४ करोड ३२ लाख भारतीय रुपैयाँ छ । निर्माण कार्य तीन वर्षभित्र सक्ने लक्ष्य लिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशी सुख्खा बन्दरगाह र दैजीछेला औद्योगिक क्षेत्रलाई गति दिनुपर्नेमा जोडने दिनु भयो ।
पहिले २८० बिघामा सुख्खा बन्दरगाह निर्माण गर्ने योजना थियो, तर अहिले दोधाराचाँदनी–१ को गौरीशङ्कर सामुदायिक वनको ६२ बिघा जमिनमा एकीकृत जाँच चौकी मात्रै बन्ने छ । ईआईए स्वीकृति भइसकेको छ भने १ हजार ९८९ रुख कटानको ठेक्का पनि लागिसकेको छ । २०६४ सालमा पहिलो पटक प्रस्ताव भए पनि वर्षौँसम्म रोकिँदै आएको यो योजना अहिले कार्यान्वयनको चरणमा पुगेको छ । राजनीतिक इच्छाशक्ति र प्रशासनिक सक्रियता कायम रहेमा पश्चिमी नाकामा सुख्खा बन्दरगाह चाँडै सञ्चालनमा आउने आशा गरिएको छ ।
नेपालतर्फ पूर्व–पश्चिम राजमार्गसँग जोड्ने गड्डाचौकी–दोधाराचाँदनी सडक र महाकालीमाथिको पक्की पुल निर्माण भइसकेको छ । भारतले पनि एसियन हाइवेसँग सडक जोड्ने काम गरिरहेको छ । बन्दरगाह सञ्चालनमा आएपछि भारतका उत्तराखण्ड र उत्तर प्रदेशसँगको व्यापारिक पहुँच सहज हुनेछ । भारतको उत्तराखण्ड राज्य सरकारले पनि बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको छ ।