केपी ओली कप टी–२० क्रिकेट : लुम्बिनीको पहिलो जित

  • नमस्ते कर्णाली

  • ३०, चैत्र २०८१

    पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शनिबार) आठौँ दिन वर्षाका कारण पहिलो खेल प्रभावित भयो भने दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ ।

    मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्सबीच हुने भनिए पनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १÷१ अंक प्राप्त गरे ।

    दुवै टिमको समान दुई खेलबाट समान ३÷३ अंक रहे पनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थान हासिल गरेको हो । उसको १.१८१८ अंक रहँदा कर्णाली ०.८८२४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

    दोस्रो खेललाई समेत प्रभाव पारेपछि १९ ओभरमा झारिएको थियो । दोस्रो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्‍यो । १ सय २९ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनायो ।

    ओपनर देव खनालले ४३ रन जोडे भने उनले ६ चौका र २ छक्का प्रहार गरे । रन्जित खत्रीले ५४ रनको अविजित अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । उनले ५ चौका र २ छक्का प्रहार गरे । मधेशका लागि प्रदीप पासवान र हरिशंकर शाहले २÷२ तथा पप्पु यादवले १ विकेट लिएका थिए ।

    त्यसअघि टस जितेर ब्याटिङ थालेको मधेश प्रदेशले १९ ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रनको योगफल तयार पारेको थियो । प्रदीप पासवान १३ रनमा नटआउट भए भने अफु्रदीन रेन ११ रनमा नटआउट भए।  रुपेश सिंहले २८ रन बनाउँदै आउट भए ।

    लुम्बिनीका लागि अजय कुमार चौहानले सर्वाधिक ३ विकेट देव खनालले २ तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान १÷१ विकेट लिए ।

    लुम्बिनी जित पश्चात् तालिकाको तेस्रो स्थानमा रहेको छ । २ खेलमा १ जित र १ हार व्यहोरेको लुम्बिनीको २ अंक रहेको छ । २ खेलमै हार व्यहोरेको मधेश तालिकाको अन्तिममा रहेको छ ।

    वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि समूह ‘सी’ को अन्तिम खेलहरू हुनेछन् । लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्ने भएको एकेडेमीले जनाएको छ ।

  • २९ चैत्र २०८१, शनिबार १८:५८ प्रकाशित

  • Nabintech