३० चैत्र, २०८१
दाङ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको आयोजनामा भएको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले शैक्षिक सुधारका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।
शैक्षिक प्रणालीमा ल्याउनुपर्ने सुधारका लागि छलफल गर्न प्रदेश सरकार तयार रहेको बताउँदै मन्त्री तिमिल्सिनाले प्रदेश सरकार आगामी आर्थिक वर्षको योजना र बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले शैक्षिक सुधार र योजनाका विषयमा घनिभूत छलफल आवश्यक छ ।
संस्थागत विद्यालयका समस्या सम्बोधन गर्ने गरी शैक्षिक योजना बनाउन प्रदेश सरकार प्रतिबद्ध छ । यस्तै छलफल र संवादमार्फत संस्थागत विद्यालयका समस्या समाधानतर्फ लाग्न सरकारका लागि सहज हुने छ , मन्त्री तिमिल्सिनाले भन्नु भयो ।
सामुदायिक विद्यालयका समस्या तथा शिक्षक कर्मचारीका समस्या सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको छ । शैक्षिक सुधारका लागि केही प्रणाली परिवर्तन गर्न आवश्यक भने छ । शिक्षकले आफूमा पनि केही परिवर्तन गर्नुपर्छ ।
शिक्षक आन्दोलनको प्रसङ्गमा बोल्दै मन्त्री तिमिल्सिनाले शिक्षकका मागप्रति सकारात्मक भएको तर आन्दोलनबाटै सबै समाधान नहुने बताउनु भयो । सकारात्मक माग रचनात्मक शैलीबाट प्राप्त गर्ने परिपाटी बसाल्ने मानसिकताको विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
शिक्षामा सुधार भए मात्र समाज शुद्ध बनाउन सकिने मन्त्री तिमिल्सिनाको भनाई छ ।