बुटवलमा आज एमालेकाे जागरण सभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने

  • नमस्ते कर्णाली

  • २९ चैत्र, २०८१

    रूपन्देही । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै हुनुहुन्छ। नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू बुटवल आउने हुनुभएको हो । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
    देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय यो सभाका लागि बुटवललाई छानिएको हो । देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेश स्तरीय जागरण सभा गर्ने र आफ्नो धारणा जनता र कार्यकर्तालाई जानकारी दिने जनाएको छ ।
    एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागेको हो । रामनगर स्थित बुटवल मण्डपमा हुने सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्नु हुनेछ ।
    नेकपा एमाले प्रचार विभाग रुपन्देहीले हिजो पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिगामी गतिविधिका विरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान चलाइएको उहाँको भनाइ थियो ।
    ‘सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन्, पार्टी सरकारमा भएपनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारलाई आम नागरिकलाई बुझाउन यो जरुरी छ’ उहाँले भन्नुभयो ‘काम गर्दा केही कमजोरी भएका पक्कै हुन सक्छन्, त्यसलाई सच्चाउने हो, यो व्यवस्था त्यसै आएको होइन, यसको रक्षा गर्ने सबैको दायित्व हो, गलत प्रचार गर्नेलाई वास्तविकता बताउन र भ्रम चिर्ने मुख्य उद्देश्य हो ।’
    सचिव अर्यालले अहिले पनि हामीले चाहेजसरी काम गर्न नसकेको, नागरिकका सबै अपेक्षा पूरा गर्न नसकेको सत्य भएको बताउँदै त्यो सुधारसहितका विषयमा प्रस्ट कुराहरू पार्टीले राखिरहँदा पनि केही समूहले अनर्गल प्रचार गरेको बताउनुभयो । एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले यो सभा एमालेको मात्र नभएर सबै गणतन्त्र पक्षधरको भएको जनाउनुभयो । गैरेले भन्नुभयो, ‘आयोजक एमाले भए पनि गणतन्त्र पक्षधर शक्तिको कार्यक्रम हो यो । सभामा हजारौँ नागरिक सहभागी हुनेछन् । यसले सन्देश दिने हो ।’
    सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडी सहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगर स्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिनुभयो ।

  • २८ चैत्र २०८१, शुक्रबार १३:२५ प्रकाशित

  • Nabintech