२८, चैत्र २०८१
बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टिमसहित भारतको सिलगुडी फुटबल क्लब लगायत आठ टिम सहभागी हुने भएका छन्। बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने प्रतियोगिता आगामी बैशाख ५ गतेदेखि १२ गतेसम्म नेपालगञ्ज रंगशालामा सञ्चालन हुनेछ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी हुने टिमहरूको घोषणा गर्दै आयोजक अन्तरालका प्रमुख कार्यकारी अधिकृत जयनारायण शाहले बाँके–११, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब प्रतिस्पर्धामा उत्रने जानकारी दिए।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। हरेक खेलको उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा शाहले यो प्रतियोगिता सफल भएसँगै नियमित फुटबल प्रशिक्षण तथा रंगशालाको भौतिक पूर्वाधार मर्मतमा सहयोग जुट्ने विश्वास व्यक्त गरे।
प्रतियोगिता हेर्न चाहने दर्शकका लागि सिजनल फुल प्याकेज १५ सय रुपैयाँमा टिकट उपलब्ध गराइनेछ भने विद्यार्थीका लागि छुटको व्यवस्था गरिएको छ। साथै भिआइपी र नर्मल प्यारापिटअनुसार टिकट दर तय गरिएको छ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबलले पश्चिम नेपालमा महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रतियोगिता सफल बनाउन विभिन्न साझेदार संस्थासँग सहकार्य सम्बन्धी सम्झौता-पत्र आदानप्रदान गरिएको थियो। इ-सेवा नेपालगञ्ज शाखा टिकट पार्टनर, होटल सिटी प्यालेस हस्पिटालिटी पार्टनर, मनमाया मेमोरियल फिजियोथेरापी सेन्टर अफिसियल फिजियो पार्टनर, रक्षक सेक्युरिटी सेक्युरिटी पार्टनर र खेलाडी डटकम प्रत्यक्ष प्रसारणका लागि सहकार्य गर्ने संस्थाको रूपमा समावेश भएका छन्।
समारोहमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका प्रमुख महेश चन्द, एन्फाका निवर्तमान केन्द्रीय सदस्य प्रदेश सिंह राठौर, पूर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताले नेपाली महिला फुटबलको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।