२७, चैत्र २०८१
बाँके ।बाँकेको राप्तीसोनारी गाउँपालिकाले विभिन्न प्राकृतिक विपद्का कारण पीडित भएका परिवारलाई साढे ५७ लाख रुपैयाँ राहत वितरण गरेको छ।
गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक जीवन न्यौपानेका अनुसार, अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्ष २०८१/०८२ मा गरी कूल ५२ जना पीडित परिवारलाई राहत उपलब्ध गराइएको हो। हावाहुरी, डुवान, चट्याङ, आगलागी तथा अन्य कारणबाट पीडित भएकाहरुलाई न्यूनतम पाँच हजारदेखि अधिकतम २५ हजार रुपैयाँसम्मको राहत वितरण गरिएको जानकारी उहाँले दिनुभयो।
राहत प्राप्त गर्नेहरूमध्ये अधिकांशको घरको छाना उडाएको, अन्नबालीमा नोक्सानी पुर्याएको वा अन्य प्रकारका क्षति पुर्याएको बताइएको छ। साथै विभिन्न कारणले मृत्यु भएका ९ जनाका परिवारलाई समेत राहत प्रदान गरिएको छ।
गाउँपालिकाका अध्यक्ष तप्प बहादुर पौडेलले विपद् र मृत्युबाट ज्यान गुमाएका परिवारप्रति गाउँपालिकाले आफ्नै स्रोतसाधनबाट सक्दो सहयोग गर्दै आएको बताउनुभयो। “विपद् व्यवस्थापनमा स्थानीय सरकारले आफ्नो दायित्व बुझेर काम गर्दै आएको छ,” अध्यक्ष पौडेलले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएका छौं।”
उहाँका अनुसार पीडितहरुले दिएको निवेदन तथा क्षतिको विवरणका आधारमा पालिकाले राहत सहयोग गर्ने अभ्यास गर्दै आएको छ।