२४, चैत्र २०८१
जुम्ला। पछिल्लो समय जुम्लामा लागूऔषधको दुरुपयोग चिन्ताजनक रूपमा फैलिएको छ। विशेषगरी युवावर्ग तथा किशोरकिशोरीहरू यस कुलतमा फस्दै गएका छन्। सडक सञ्जाल विस्तारसँगै ग्रामीण बस्तीहरूमा समेत ब्राउन सुगरसहितका लागुऔषधहरू सजिलै पुग्न थालेका छन्।
गत वर्ष पुस १२ गते तातोपानी गाउँपालिका-५ लाम्रागाउँका २९ वर्षीय नन्दलाल सार्की, २० वर्षीय पंकज सार्की र प्रवेश नेपालीलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गर्यो। उनीहरूबाट २४ पुरिया ब्राउन सुगर बरामद भएको थियो।
यसैगरी, पुस ६ गते चन्दननाथ–९ उमगाड बस्ने २० वर्षीय सुनिल कामीलाई एक पुरिया ब्राउन सुगरसहित नियन्त्रणमा लिइयो। त्यस्तै, तातोपानी-६ का रोशन कठायत, सुरेन्द्र डाँगी र सिंजा गाउँपालिका–२ का जीवन खत्री पनि लागूऔषधसहित पक्राउ परेका हुन्।
हालै मात्र, चन्दननाथ नगरपालिका–६ का रवीन्द्र रोकायालाई प्रहरीको विशेष सूचनाका आधारमा छिना गाउँबाट पक्राउ गरिएको छ। उनलाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी छेदिलाल कामतीका अनुसार रवीन्द्रको साथबाट ४ पुरिया लागूऔषध (२२० मि.ग्रा) फेला परेको छ। थप अनुसन्धान गर्दा उनका कोठाबाट काठको खटियाको भुइँमा लुकाइएको थप २ पुरिया (१७० मि.ग्रा) लागूऔषध बरामद गरिएको छ।
डीएसपी कामतीका अनुसार, “ग्रामीण क्षेत्रका घरघरमै लागूऔषध प्रयोगकर्ता देखिन थालेका छन्। बेरोजगारी, अभाव र अभिभावकीय निगरानीको कमीले यस्तो समस्या झनै गहिरिँदै गएको छ।”
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, चालु आर्थिक वर्षमा लागूऔषधसम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन्। साथै, चरेसका २ र ट्रामाडोलको १ मुद्दा गरी जम्मा २० मुद्दामा २८ जना पक्राउ परिसकेका छन्।
अघिल्ला वर्षहरूमा पनि यो समस्या क्रमशः बढ्दो क्रममा देखिन्छ।आर्थिक वर्ष २०७७/०७८ मा १४ जना
२०७८/०७९ मा १३ जना
२०७९/०८० मा २५ जना
२०८०/०८१ मा २६ जना पक्राउ परेका थिए।
यसैबीच, लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा सेवन, खेती तथा लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई कैद र जरिवानाको व्यवस्था गरिएको छ। पुनः अपराध गर्ने व्यक्तिहरूलाई थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान पनि ऐनमा समावेश गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध नियन्त्रणका लागि स्थानीय तह, विद्यालय, सामाजिक संस्था र नागरिकहरूसँग सहकार्य गर्दै जागरूकता अभिवृद्धि गर्न जरुरी रहेको जनाएको छ।