दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा अवरुद्ध

  • नमस्ते कर्णाली

  • २०, चैत्र २०८१
    बाँके ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको एमआरआई मेसिन सेवा अवरुद्ध भएको छ। सेवा बन्द हुँदा बिरामीहरू समस्यामा परेका छन्। प्रतिष्ठानका अनुसार, एमआरआई मेसिन आपूर्ति गर्ने कम्पनीले आवश्यक सफ्टवेयर अपडेट नगरेका कारण सेवा रोकिएको हो।

    प्रतिष्ठानले जारी गरेको सूचनामा भनिएको छ, “प्रतिष्ठानलाई एमआरआई मेसिन आपूर्ति गर्ने आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीले प्रतिष्ठानसँग गरेको सम्झौताअनुसार उक्त मेसिनको लाइफटाइम अवधिभर निःशर्त सफ्टवेयर अपडेट गर्नुपर्नेमा सो नगरेका कारण हाल एमआरआई सेवा अवरुद्ध भएको छ। सफ्टवेयर अपडेट गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।”

    तर, लुम्बिनी हेल्थ केयर प्रालीका अध्यक्ष पोष्टराज ज्ञवालीका अनुसार प्रतिष्ठानले तीन वर्षदेखि दिनुपर्ने २० प्रतिशत रकमको भुक्तानी नगरेका कारण सफ्टवेयर अपडेट रोकिएको हो। उनले भने, “प्रतिष्ठानले बाँकी रकम उपलब्ध गराए भोलिपल्टै सफ्टवेयर अपडेट गरिनेछ।”

    एमआरआई सेवाको अवरोधले गम्भीर बिरामीहरूलाई समस्या परिरहेको छ। समयमै समस्या समाधान नगरे बिरामीहरूले निजी अस्पतालको महँगो सेवा लिनुपर्ने बाध्यता सिर्जना हुन सक्छ। सरोकारवालाहरूले छिटो समाधान खोज्नुपर्ने माग बिरामी तथा स्वास्थ्यकर्मीहरूले गरेका छन्।

     

  • १९ चैत्र २०८१, बुधबार १८:०७ प्रकाशित

  • Nabintech