बाजुरा । लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि अहिले बाजुराको दुर्गम गाउँ बस्तीका बुढापाका निकै दङ्ग परेका छन् । मोतिबिन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै आएका यहाँका बुढापाकाहरूको गाउँमै आँखाको अप्रेसन भएपछि उनीहरू खुसी भएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण आफैँ उपचार गर्न नसक्दा धेरैजसो स्थानीय लामो समयदेखि अन्धोपनको समस्यासँग संघर्ष गरिरहेका थिए । यही अवस्थालाई मध्यनजर गर्दै हिमाली गाउँपालिकाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र रुईत फाउण्डेशन काठमाण्डौको आर्थिक सहयोगमा स्थानीयलाई गाउँमै निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिएको थियो ।
बुढ्यौली उमेरमा नयाँ जीवन
“अहिले म सत्तरी वर्षको भएँ । पचास वर्षकै उमेरमा मोतिबिन्दुका कारण आँखाको ज्योति गुमाएको थिएँ । त्यसपछि लामो समयदेखि अन्धो भएर बस्नुपरेको थियो,” हिमाली गाउँपालिका वडा नं –५ नन्दापाटाका ७० वर्षीय जयसुर भण्डारीले बताए । उनी थप्छन्, “मलाई धनगढी जाँदा यहाँबाट पचास-साठी हजार रुपैयाँ लाग्छ । त्यति पैसा कहिल्यै भएन। त्यसैले आँखा जाँच गर्न कतै जान सकिनँ । अहिले गाउँमै निःशुल्क अप्रेसन भएर आँखाको ज्योति फर्किएपछि पुनर्जन्म पाएजस्तै महसुस भएको छ। अब म आफैँ केही गरेर पेट पाल्न सक्छु ।” हिमाली गाउँपालिका निकै दुर्गम ठाउँमा पर्दछ। यहाँका स्थानीयको आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरू रोग लागे पनि उपचार गर्न जान सक्दैनन् । यही समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले विभिन्न संस्थाहरूसँग समन्वय गरेर निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
एक सय तीन जनाको सफल अप्रेसन
गत चैत १० देखि १३ गतेसम्म प्रत्येक वडामा शिविर सञ्चालन गरिएको थियो। सोही शिविरमा अप्रेसनका लागि छनोट भएका १०३ जनाको चैत १५ र १६ गते पालिकाको स्वास्थ्य चौकीमा अप्रेसन गरिएको थियो । डाक्टर विक्रम थापाका अनुसार बाजुराको हिमाली गाउँपालिका देशकै दुर्गम ठाउँमध्ये एक हो। यहाँका धेरै स्थानीयलाई मोतिबिन्दु समस्या रहेको छ । आर्थिक अभावका कारण कतिपयले उपचारका लागि अन्यत्र जान सकेका छैनन् । “उनीहरूकै घरमा पुगेर आँखाको अप्रेसन गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ,” उनले भने । नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतका सभापति रामलाल आचार्यका अनुसार पालिकाको समन्वयमा प्रत्येक गाउँबस्तीमा आँखा शिविर सञ्चालन गरिएको हो। हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार यहाँका सात वटै वडाका झण्डै हजारौं आँखाका रोगीहरूले निःशुल्क सेवा लिएका छन् । “यीमध्ये १०३ जनाको मोतिबिन्दुको अप्रेसन गरिएको छ। गुमेको ज्योति फिर्ता पाएपछि उनीहरू खुसी छन्,” उनले भने ।
चौसट्ठी जनालाई अपाङ्गता परिचय पत्रको सिफारिस
हिमाली गाउँपालिकाले ६४ जनालाई अपाङ्गता परिचय पत्रका लागि सिफारिस गरेको छ । चैत १६ गते पालिकाको आयोजना तथा आइएनएफ बाजुराको साझेदारीमा धुलाचौरमा अपाङ्गता स्वास्थ्य जाँच तथा परिचय पत्र वितरणका लागि शिविर सञ्चालन गरिएको थियो । शिविरमा सात वटै वडाका झण्डै १५३ जनाले स्वास्थ्य जाँच गराएका थिए । तीमध्ये ६४ जना अपाङ्गता परिचय पत्र पाउने उपयुक्त देखिएको सिफारिस समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताइन् । गाउँपालिकाका अध्यक्ष गोबिन्द्रबहादुर मल्लका अनुसार यसअघि आपाङ्गता परिचय पत्रका लागि स्थानीयहरूले दुई हजार रुपैयाँभन्दा बढी खर्च गरेर मार्तडी जानुपर्ने बाध्यता थियो। “तर, अहिले हामीले गाउँमै वितरण गर्ने व्यवस्था गरेका छौँ,” उनले भने । दुर्गम गाउँबस्तीमा स्वास्थ्य सेवा पुर्याउन गरिएको प्रयासप्रति स्थानीय निकै सन्तुष्ट छन् । गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउन अन्य स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।