१९, चैत्र २०८१
बाँके । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाजमा रहेका कुसंस्कारका रूपमा रहेको लैङ्गिक हिंसा विरुद्ध सबैले आवाज उठाउन जरुरी रहेको बताउनु भएको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत महिला समुत्थान परियोजनाले दाङमा आयोजना गरेको “सामाजिक रुपमा रहेको हानिकारक अभ्यास, लैङ्गिक विभेद तथा हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम” मा बोल्दै मन्त्री तिमिल्सिनाले समाजमा लैङ्गिक हिंसा रोकथामका लागि व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो।
मन्त्री तिमिल्सिनाले समाजमा लैङ्गिक हिंसाका विषयमा विभिन्न कार्यक्रम सञ्चालन भए तापनि त्यसलाई व्यवहारमा लागू नगरेसम्म अपेक्षित परिवर्तन सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले महिलाहरूलाई समान हैसियतमा राख्न जरुरी रहेको उल्लेख गर्दै समाजमा चेतनाको स्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभयो।
“लैङ्गिक हिंसा अन्त्यका लागि हामीले घरबाटै सुरुवात गर्नुपर्छ। छोरीलाई गर्ने व्यवहार र बुहारीलाई गर्ने व्यवहार जबसम्म समान गर्न सक्दैनौँ, तबसम्म हिंसा अन्त्य गर्न सक्दैनौँ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो। उहाँले बालबालिकालाई सानै उमेरदेखि लैङ्गिक समानताको शिक्षा दिनु आवश्यक रहेको र यसका लागि विद्यालयको पाठ्यक्रममा समेत लैङ्गिक हिंसासम्बन्धी विषय समावेश गरिएको जानकारी दिनुभयो।
मन्त्री तिमिल्सिनाले समाजमा व्याप्त लैङ्गिक विभेद अन्त्यका लागि कानुनी र नीतिगत संरचना मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै हालै मात्र “लैङ्गिक हिंसा सम्बन्धी कार्यविधि २०८१” पास गरी कार्यान्वयनका लागि अगाडि बढाएको उल्लेख गर्नुभयो। साथै, लैङ्गिक हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउँदै सामाजिक परिर्वतनका लागि निरन्तर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूले लैङ्गिक हिंसा अन्त्यका लागि समन्वयात्मक कार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले लैङ्गिक समानता स्थापना गर्न शिक्षा, कानुनी संरचना, तथा सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रमका सहभागीहरूले महिलामाथि हुने हिंसा, विभेद र अन्यायपूर्ण व्यवहार अन्त्य गर्न सबै तहका सरकारी तथा गैरसरकारी निकायबीच समन्वयात्मक प्रयास आवश्यक रहेको बताए। उनीहरूले घरेलु हिंसा, कार्यस्थलमा हुने लैङ्गिक भेदभाव तथा सामाजिक रूपमा जरा गाडेको हिंसाजन्य प्रवृत्तिलाई अन्त्य गर्न शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।
लैङ्गिक हिंसा समाजका लागि गम्भीर समस्या भएको र यसको न्यूनीकरणका लागि हरेक नागरिकले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने कार्यक्रममा सहभागी वक्ताहरूले बताएका थिए। महिला अधिकारकर्मीहरूले महिलाहरूको आत्मनिर्भरता बढाउन आर्थिक सशक्तिकरण आवश्यक रहेकोमा पनि जोड दिएका थिए।
लैङ्गिक हिंसा अन्त्यका लागि समाजमा चेतनाको स्तर अभिवृद्धि गर्नुका साथै, नीति निर्माणदेखि लिएर कार्यान्वयन तहसम्म प्रभावकारी कदम चाल्नुपर्ने कार्यक्रमका वक्ताहरूको धारणा रहेको थियो।