सिक्टा सिँचाई आयोजनाको ४१ प्रतिशत काम सम्पन्न, किसानले पाउन थाले सिँचाई सुविधा

  • नमस्ते कर्णाली

  • १८, चैत्र २०८१
    बाँके ।बाँकेमा ४३ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याउने लक्ष्यसहित अघि बढेको राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको हालसम्म ४१ प्रतिशत काम सम्पन्न भएको छ। आर्थिक वर्ष २०६२/६३ देखि सुरु भएको आयोजनाले विभिन्न चरणमा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आएको छ।

    सुरुवाती चरणमा १२ अर्बको गुरुयोजनासहित अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने लक्ष्य राखिएको थियो। तर, विस्तारै पूर्वी नहरसहित विभिन्न शाखा/प्रशाखाहरू थपिँदै गए। सिँचाइको प्रभावकारिता बढाउन राप्ती नदी नियन्त्रणका कार्यहरू समेत आयोजनामा समावेश गरियो। २०७४ मा २५ अर्बको संशोधित गुरुयोजना पारित भएसँगै कार्यक्षेत्र अझै फराकिलो बन्यो। पछिल्लो पटक २०७९ मा पुनः ५२ अर्बको गुरुयोजना स्वीकृत भइसकेको छ, जसअनुसार हाल आयोजनाको कार्य अगाडि बढिरहेको छ।

    सिक्टा सिँचाई आयोजनाका निर्देशक राजु आचार्यका अनुसार हालसम्म २१ अर्ब रुपैयाँ बराबरको ४१ प्रतिशत काम पूरा भइसकेको छ। यदि प्रारम्भिक लागतका आधारमा तुलना गरिने हो भने शतप्रतिशतभन्दा बढी काम भइसकेको छ, “दोस्रो गुरुयोजनासँग तुलना गर्दा करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। कार्यक्षेत्र बढ्दै जाँदा प्रगति प्रतिशत न्यून देखिए पनि वस्तुगत रूपमा आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ।”
    हाल पूर्वी नहरको ४२ किलोमिटर निर्माण सम्पन्न भई पानी प्रवाह भइसकेको छ, यद्यपि पूरै ५२ किलोमिटर निर्माण अझै बाँकी छ। पश्चिमी नहरको ५० किलोमिटर निर्माण सम्पन्न भई चलिरहेको छ। सिधनिया शाखा, अकलघरुवा, र डुडुवा खोलाबाट पानी प्रवाह भइरहेको छ। पश्चिम क्षेत्रको कमाण्ड एरियामध्ये सबैभन्दा ठूलो हिस्सा डुडुवा क्षेत्रमा पर्दछ, जहाँ १६ हजार हेक्टर जमिनमा सिँचाई पु¥याउने लक्ष्य राखिएको छ।

    सिक्टाले नहरकै पानीबाट सिँचाई गर्न नसक्ने ठाउँहरूमा चारवटा लिफ्ट सिँचाई प्रणाली निर्माण गरिरहेको छ, जसको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। फत्तेपुर कमाण्ड एरियामा २,००० हेक्टर जमिनमा सिँचाई सुविधा दिइसकिएको छ। किसानहरू आंशिक रूपमा भए पनि सिँचाई सुविधाबाट लाभान्वित हुन थालेका छन्।

    सिक्टा सिँचाई आयोजनाले अहिलेसम्म २१ हजार हेक्टर क्षेत्रमा आंशिकरूपमा सिँचाई सुविधा पु¥याएको छ। तर, आयोजनाको सामना गर्ने प्रमुख चुनौतीहरूमा मुआब्जा वितरण, वातावरण संरक्षण, र बस्ती व्यवस्थापन रहेका छन्। हालसम्म करिब १७० हेक्टर जमिनको मुआब्जा वितरण भइसकेको छ, तर गुरुयोजनामा ४४० हेक्टर मुआब्जा दिनुपर्ने उल्लेख छ। आयोजनाले अब शाखा/प्रशाखाहरूको क्षेत्रमा मुआब्जा न्यूनीकरण गर्दै जाने नीति लिएको छ।
    सिक्टा सिँचाई आयोजनालाई तीन चरणमा विभाजन गरिएको छ। हाल दोस्रो चरण अन्तर्गतको काम भइरहेको छ, जुन आर्थिक वर्ष २०८२/८३ सम्म सञ्चालनमा रहनेछ। तेस्रो चरणमा पश्चिम नहरको विस्तार तथा पूर्वी नहर अन्तर्गत नरैनापुर क्षेत्रमा बाँकी रहेका कार्यहरू सम्पन्न गरिनेछ।

    हाल चालू आर्थिक वर्षमा १ अर्ब ५५ करोड मात्र विनियोजन भएको छ, जबकि गुरुयोजना अनुसार वार्षिक ३ अर्ब आवश्यक पर्ने अनुमान छ। बजेट अभावले वार्षिक लक्ष्य हासिल गर्न चुनौती थपिएको निर्देशक आचार्यको भनाई छ।

    सिक्टा सिँचाई आयोजनाले बाँकेका किसानहरूलाई वर्षभरि भरपर्दो सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। यो आयोजना पूर्ण रूपमा सम्पन्न भएमा बाँके जिल्लामा कृषिमा आमूल परिवर्तन ल्याउने र उत्पादन वृद्धिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

     

  • १७ चैत्र २०८१, सोमबार ११:५८ प्रकाशित

  • Nabintech