काठमाडौं महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना

  • नमस्ते कर्णाली

  • १७, चैत्र २०८१
    काठमाडौं ।काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा तोडफोड र फोहोर गरेको आरोपमा ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरले ८ वटा फरक-फरक पत्र काटेर जरिवाना तोकेको हो ।

    दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाको मागसहित भएको प्रदर्शनमा सहभागीहरूले महानगरपालिकाका विभिन्न संरचना, दमकल तथा अग्नि नियन्त्रकहरूमा आक्रमण गरेका थिए । घटनापछि महानगरले सार्वजनिक सम्पत्तिमा भएको क्षतिको जिम्मेवारी पूर्वराजा शाहलाई तोक्दै जरिवाना लगाउने निर्णय गरेको हो ।
    महानगरका अनुसार दमकल तोडफोडका लागि एक लाख तीस हजार, कोटेश्वर, जडिबुटी, बालकुमारी, सिनामंगल र महादेवस्थानमा फोहोरका लागि एक/एक लाख, वातावरण प्रदुषणका लागि एक लाख र रुख विरुवा तथा तीनकुने आइल्याड तोडफोड गरिएकोमा ६३ हजार जरिवाना गरिएको हो ।
    महानगरपालिकाको टोलीले शनिबार तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरेको थियो । संकलित विवरणका आधारमा नोक्सानीको खर्च र सरसफाइ शुल्क समेत शाहबाटै असुल गरिने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

  • १६ चैत्र २०८१, आईतवार १०:५४ प्रकाशित

  • Nabintech