सरला सुवेदी
१६, चैत्र २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।
थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीय सरकारले लुम्बिनीको विकासका लागि तीन तहका सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
“तीन तहका सरकारबीच समन्वय र सहकार्य भएमा लुम्बिनीको विकासले गति लिने थियो,” उहाँले भन्नुभयो, “संघीय सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ।”
मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै, त्यसबाहिरका काम नहुनु पर्ने स्पष्ट पार्नुभयो। उहाँले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्ने जस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
लुम्बिनी विकास गुरुयोजनाअनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन्। उहाँले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त गुम्बाको शिलान्यास पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो। शिलान्यास कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बौद्ध धर्मावलम्बी, जनप्रतिनिधि तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभर शान्ति, सहिष्णुता र ज्ञानको प्रतीकका रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले बौद्ध धर्मको महत्वलाई उजागर गर्न लुम्बिनीको भौतिक तथा आध्यात्मिक विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
यस अवसरमा लुम्बिनी विकास कोषका पदाधिकारीहरूले पनि लुम्बिनीको विकासका लागि विभिन्न योजनाहरू अघि बढिरहेको जानकारी गराए। उनीहरूले तीन तहका सरकारबीच समन्वय गरी पूर्वनिर्धारित योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गरिनुपर्ने आवश्यकतामा जोड दिए।
लुम्बिनीमा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा पूर्वाधार विकासलाई प्राथमिकताका रूपमा अघि बढाउनु पर्ने आवाज उठिरहेको छ। लुम्बिनी क्षेत्रको सुव्यवस्थित विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै वक्ताहरूले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई जोगाउँदै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
शिलान्यास गरिएको थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बा निर्माणपछि लुम्बिनीमा थप आकर्षण थपिने विश्वास गरिएको छ। गुम्बा निर्माण सम्पन्न भएपछि यो स्थल अध्यात्म, साधना र अध्ययनका लागि महत्वपूर्ण गन्तव्य बन्ने अपेक्षा गरिएको छ।