कृषिलाई प्रविधिसँग जोड्दै पालिका

  • नमस्ते कर्णाली

  • १५ चैत्र, २०८१

    सल्यान । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै जिल्लाको कालिमाटी गाउँपालिकाले कृषकलाई कृषि यन्त्र वितरण गरेको छ । सात वटै वडाका समूहमा आबद्ध किसान, सहकारी र कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा २४ थान मिनी टिलर वितरण गरेको छ ।
    खेतबारी जोत्नका लागि किसानले गोरु, राँगा पाल्न छाड्दै गएकाले खेतबारी बाँझो हुने अवस्था आउन नदिन पालिकाले मिनी टिलर वितरण गरेको कालिमाटी गाउँपालिकाले जनाएको छ ।
    कृषिलाई प्रविधिसँग जोड्न पालिकाले ५० प्रतिशत अनुदानमा १५ लाख ६० हजार रकम बराबरको मिनी टिलर वितरण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताउनु भयो । समूहमा, फर्म र सहकारीमा आबद्ध किसानले ७ लाख ८० हजार व्यहोरेका छन् ।
    मिनी टिलर समूह तथा सहकारीमा आबद्ध किसान सबैले आवश्यकता अनुसार पालैपालो प्रयोग गर्न सक्नेछन् । मिनी टिलरबाट पालिकाका सयभन्दा बढी किसान लाभान्वित हुने कृषि विकास शाखा प्रमुख दीपिका खड्काले बताउनु भयो । किसानहरूको मागअनुसार नै मिनी टिलर वितरण गरिएको उहाँको भनाई छ ।
    गोरुले भन्दा मिनी टिलरले जोत्न सहज मात्र नभई छिटो हुने भएकाले यसको माग बढिरहेको उहाँको भनाइ छ । कृषिमा प्रविधिको प्रयोग नगरी उत्पादन वृद्धि सम्भव नभएको बताउँदै अनुदान कार्यक्रमले कृषकहरूलाई व्यावसायिक कृषितर्फ टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

  • १४ चैत्र २०८१, शुक्रबार ०८:०१ प्रकाशित

  • Nabintech