१५, चैत्र २०८१
हुम्ला। हुम्ला जिल्लामा उत्पादन हुने सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरिएको छ। जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि यी बालीहरूको नयाँ मूल्य तय गरेको हो।
जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरका अनुसार नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी रु १८०, कागुनोको चामल प्रतिकेजी रु १८०, सिमी प्रतिकेजी रु १७०, तिते फापर प्रतिकेजी रु १००, मिठे फापर प्रतिकेजी रु १२०, उवा प्रतिकेजी रु १२०, र कोदो प्रतिकेजी रु १०० निर्धारण गरिएको छ।
नयाँ मूल्य निर्धारणमा चिनो, कागुनो, र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा रु ५ ले वृद्धि गरिएको छ, भने सिमीको मूल्य प्रतिकेजी रु १० ले बढाइएको छ।
यी रैथाने बालीहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरी खरिद गर्नेछ। हुम्लामा रैथाने बालीको आधिकारिक मूल्य निर्धारण गर्न थालिएको यो तेस्रो वर्ष हो।
बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायत सरोकारवालाहरूको उपस्थिति थियो।
स्थानीय कृषकहरूले रैथाने बालीको मूल्य निर्धारणले उत्पादनमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, यसले बजारमा स्थिरता ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।