१४,चैत्र २०८१
बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ कमैया डाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ।
गाउँपालिका अध्यक्ष तप्त पौडेलले स्वास्थ्यको विषयमा गाउँपालिका संवेदनशील रहेको र गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा क्रमशः थप सेवाहरू विस्तार गर्दै जाने बताए। सामान्य स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्न आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ थियो।
राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले ल्याब सहितको आधारभूत स्वास्थ्य केन्द्र सम्भवतः नेपालमै पहिलो भएको दाबी गरे। कमैया डाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रको ल्याबमा हाल हप्तामा तीन दिन रगत परीक्षणको व्यवस्था गरिने छ।
गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले महिलाका स्वास्थ्यलाई नजिकबाट नियाल्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको आवश्यकता अनुसार गाउँपालिका र वडा स्तरबाट सेवा थप्दै गएको बताइन्। राप्ती सोनारी ६ का वडाअध्यक्ष लबराज खरेलले आधारभूत स्वास्थ्य केन्द्रबाट दैनिक ६० जनाभन्दा बढीले सेवा लिँदै आएको र ल्याब सेवा विस्तार भएकाले अब केही राहत हुने विश्वास व्यक्त गरे।
आधारभूत स्वास्थ्य केन्द्र कमैया डाँडाका प्रमुख नियामत अलि साईले सहजीकरण गरेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्षका सचिवालय संयोजक पवनकुमार शाह, वडा तहका जनप्रतिनिधि, वडा स्तरीय राजनीतिक दलका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायतको उपस्थिति थियो।