१४, चैत्र २०८१
बाँके ।नेपालगन्जका विभिन्न स्थानबाट मोटरसाइकल तथा ई-रिक्सा चोरी गर्ने गिरोहलाई प्रहरीले चोरी गरेको सवारी साधनसहित पक्राउ गरेको छ। फरक मितिमा हराएका दुई मोटरसाइकल र एकथान ई-रिक्सा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर–४ का २१ वर्षीय पवन पाण्डे, नेपालगन्ज–१६ का २० वर्षीय अमिर ढापाली र जानकी–१ का २१ वर्षीय ओमप्रकाश जरवट रहेका छन्।
प्रहरीका अनुसार, पवन पाण्डेले गत माघ १७ गते नेपालगन्ज–४ वसपार्क नजिकैबाट प्र.०२–००१८–६९०० नम्बरको बुलेट मोटरसाइकल चोरी गरेका थिए। हराएको सूचना पाएलगत्तै प्रहरीले खोजी अभियान चलाएको थियो। माघ १८ गते कोहलपुर नगरपालिका–३ किरणनाला नजिक मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेपछि अनुसन्धान गर्दै जाँदा चैत्र ११ गते सुर्खेतबाट पाण्डेलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ।
त्यसैगरी, चैत्र १२ गते नेपालगन्ज–१२ गणेशमान चोकबाट भे.१२ प.३०६१ नम्बरको साइन मोटरसाइकल चोरी भएको थियो। चोरी भएको मोटरसाइकल नेपालगन्ज–१६ मन्नपुरवामा भेटिएपछि प्रहरीले सोही स्थानका अमिर ढापालीलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पाताली ले जानकारी दिनुभयो।
यसैगरी, नेपालगन्ज–१७ नवजी गाउँबाट ने.१ ह.३०७० नम्बरको ई-रिक्सा हराएको सूचना पाएपछि प्रहरीले खोजी अभियान चलाएको थियो। सोही वडाको ढोडे गाउँमा ई-रिक्सा फेला परेको थियो। अनुसन्धानको क्रममा प्रहरी टोलीले जानकी–१ का ओमप्रकाश जरवटलाई पक्राउ गरेको हो।
बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातालीका अनुसार, पक्राउ परेका तीनैजनाविरुद्ध चोरी कसुरमा थप अनुसन्धान भइरहेको छ।