सुर्खेत ।कर्णाली प्रदेशमा नेपाल स्काउटको आयोजनामा ५८९ औं र ५९० औं स्काउट आधारभूत तालिम (बी.टी.सी) तथा ४३६ औं स्काउट आधारभूत तालिम (पी.टी.सी) आजदेखि सुरु भएको छ। कर्णाली प्रदेशका युवाहरुलाई सामूहिक गतिविधिमा सक्रिय बनाउने र एकताबद्ध समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो।
तालिमको उद्घाटन प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गरेका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्काउट तालिमले युवाहरुलाई अनुशासन, नेतृत्व, आत्मनिर्भरता, समाजसेवा र सहयोगको भावना विकास गर्न मद्दत पुर्याउने बताए। उनले युवाहरुलाई मानवता प्रवर्द्धनमा अग्रसर रहन समेत आग्रह गरे।
मन्त्री भण्डारीले कर्णाली प्रदेशको विपद् जोखिम व्यवस्थापन र सामाजिक चुनौतीहरूको समाधानका लागि यस्ता तालिमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले सरकार सामाजिक सुरक्षामा प्रतिबद्ध रहेको बताउँदै नवप्रवर्तन र सिर्जनात्मक कार्यहरूमा युवाहरूलाई सक्रिय रहन प्रोत्साहित गरे।
नेपाल स्काउट कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहोराले स्काउटका माध्यमबाट युवा सक्रियतालाई अभिवृद्धि गर्न तालिमको महत्वपूर्ण योगदान रहने उल्लेख गरे। उनले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी युवाहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले युवाहरूलाई नेतृत्व विकास र सामाजिक सेवामा अग्रसर हुन अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ।