१३, चैत्र २०८१
जुम्ला।जुम्लामा मात्र उत्पादन हुने, विश्वकै लोकप्रिय र दुर्लभ प्रजातिको जुम्ली मार्सी धानको खेती आजबाट सुरु भएको छ। समुद्री सतहबाट २८५० मिटरको उचाइमा उत्पादन हुने यो धानलाई संसारकै उच्च भागमा फल्ने धानको रूपमा चिनिन्छ। जुम्लामा हरेक वर्ष चैत १२ गते मार्सी धानको बिउ भिजाएर राख्ने विशेष दिनलाई बारुवा पर्वका रूपमा मनाइन्छ।
जुम्लाका किसानहरूका लागि आजको दिन धान खेतीको क्यालेन्डर सुरु हुने महत्वपूर्ण दिन हो। यो अवसरमा कृषि विकास कार्यालय, जुम्लाको आयोजनामा जुम्ली मार्सी धानको बीउ संरक्षण तथा प्रवर्द्धन कार्यक्रम आयोजना गरियो। कार्यक्रममा स्थानीय किसान, कृषि विज्ञ र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रह्यो।
जुम्लाको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको बारुवा पर्वमा किसानहरू धानको बीउलाई चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका र आफ्ना कुल देवतालाई सम्झेर आशीर्वाद माग्दै बिउ भिजाउने परम्परा अनुसार सहभागी भए। स्थानीय महिलाहरूले मागल पुकारेर बिउ राख्ने धार्मिक तथा सांस्कृतिक विधि पूरा गरे।
मार्सी धानको बीउ आज भिजाएपछि चैत १६ गते पानी तारेर तातो ठाउँमा पातीले छोपिन्छ। चैत २० मा ब्याडमा छरिन्छ र ४० दिनपछि बेर्ना रोप्नका लागि तयार हुन्छ। किसानहरू जेठ १० बाट रोपाइँ सुरु गर्छन्।
धानका बोटहरू असारदेखि साउनसम्म गोडमेल गरिन्छ। भदौमा झारपात उखेल्ने काम गरिन्छ। खरानी, तीतेपाती, गाईभैँसीको गहुँत मिसाएर जैविक मलको प्रयोग गरिन्छ। असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धान भित्र्याइन्छ। सात महिनामा तयार हुने मार्सी धान स्वादिष्ट मात्र नभई स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ।
जिल्ला समन्वय समिति, जुम्लाका प्रमुख गाैरीन्द आचार्यले हराउँदै गएको जुम्ली मार्सीको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए। आधुनिक कृषि प्रविधि र सिँचाइ अभावका कारण उत्पादन घट्दै गएको बताउँदै उनले मार्सीको महत्व बुझेर यसको खेतीलाई प्राथमिकता दिन आग्रह गरे।
त्यस्तै, तिला गाउँपालिकाकी पूर्व उपाध्यक्ष विष्णु बुढाले आफ्नो पहिचान जोगाउनका लागि बजारको सेतो चामलभन्दा मार्सीलाई प्राथमिकता दिनुपर्ने बताइन्। कृषि अनुसन्धान केन्द्र, जुम्लाले अहिले मार्सीका विभिन्न ग्रेडका धान उत्पादन गरी किसानलाई उपलब्ध गराउँदै आएको छ।
स्थानीय जनश्रुतिअनुसार १०९८ सालमा चन्दननाथ बाबाले काश्मिरबाट मार्सी धानको बिउ ल्याएको विश्वास गरिन्छ। लाछु ज्युलोमा पहिलो पटक रोपिएको उक्त धानले सफल उत्पादन दिएपछि धान खेतीको विस्तार भएको थियो। त्यसबेलादेखि चन्दननाथ र भैरवनाथलाई एक–एक पाथी धान चढाउने परम्परा निरन्तर चल्दै आएको छ।
मार्सी धान जुम्ली जीवनशैलीसँग मात्र होइन, उनीहरूको संस्कृति, धार्मिक आस्था र आर्थिक उपार्जनसँग पनि प्रत्यक्ष जोडिएको छ। तर, पछिल्लो पुस्ताले खेतीमा चासो नदेखाउनु, सिँचाइ अभाव र रोगकिराको समस्या मार्सीको अस्तित्वका लागि चुनौती बनेको छ।
जुम्ली मार्सी धानको महत्त्वलाई बचाइराख्न स्थानीय, प्रदेश सरकार र कृषि अनुसन्धान केन्द्रको सहकार्यमा संरक्षणका पहलहरू गरिनु आवश्यक छ। यो धानले जुम्लाको पहिचानलाई झन् बलियो बनाउने मात्र नभई स्वदेशी उत्पादनलाई विश्व बजारमा समेत परिचित गराउने सम्भावना बोकेको छ।