१०, चैत्र २०८१
बाँके ।बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा आइतबार अपराह्न ट्याङ्करको ठक्करबाट दुई बालकको ज्यान गएको छ। भे१ ख ४१०७ नम्बरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीयका अनुसार दुबै जना बेतहनीस्थित नौरीगढी एकेडेमीमा एल.के.जी.मा अध्ययनरत सहोदर दाजुभाइ थिए। स्कुलबाट घर फर्किने क्रममा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। ठक्करपछि उनीहरू सडकमा लडेका थिए र त्यसपछि ट्याङ्करले किचेको स्थानीयले जानकारी दिएका छन्।
दुर्घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। आक्रोशित भीडले ट्याङ्करमा आगजनी गरेका छन् भने प्रहरी चौकी बेतहनीलाई समेत घेराउ गरेका छन्। स्थानीयले चालकलाई लुकाइएको आरोप लगाउँदै प्रदर्शन गरेका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको छ। स्थानीयले बालकहरूको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार घटना पश्चात् अवस्था तनावग्रस्त बनेको छ। “अहिले स्थिति नियन्त्रण बाहिर जानसक्ने अवस्था छ। हामी शान्ति सुरक्षा कायम गर्न हरसम्भव प्रयास गरिरहेका छौं,” डिएसपी पातलीले जानकारी दिए।
स्थानीय बासिन्दाले दोषी चालकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।