सुर्खेतमा प्रथम खुला देउडा प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको रंगीन तयारी

  • नमस्ते कर्णाली

  • ९, चैत्र २०८१
    सुर्खेत ।सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर खुला मञ्चमा आगामी चैत्र १६ गतेदेखि २० गतेसम्म प्रथम खुला देउडा प्रतियोगिता तथा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रमले मौलिक परम्परालाई जीवन्त राख्ने प्रयास गर्नेछ।

    प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले चैत्र १४ गते साँझ ५:०० बजेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। रु. १,५००/- को टिम दर्ता शुल्क तोकिएको छ भने प्रत्येक टिममा ७ देखि १५ जनासम्म सहभागी हुन सक्नेछन्। प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूले अनिवार्य रूपमा स्थानीय भेषभूषा मा सजिएर आफ्नो प्रस्तुति दिनुपर्नेछ।

    प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टोलीलाई रु. ५५,५५५/-, द्वितीयलाई रु. ३३,३३३/-, तृतीयलाई रु. २२,२२२/- र चारजना सान्त्वना विजेताहरूलाई रु. ११,१११/- प्रदान गरिनेछ।

    सांस्कृतिक कार्यक्रमको विशेष आकर्षणका रूपमा देउडा सम्राट नन्द किशन जोसी र देउडा सम्राट नेत्रराज शाही का साथमा चर्चित गायिका रेखा जोसी तथा गायक छत्र शाही को प्रस्तुतिहरू रहनेछन्। त्यस्तै, नवराज भण्डारी र इस्बल संज्याल का लोकगीतका धुनहरूले दर्शकलाई मन्त्रमुग्ध बनाउनेछन्। हास्य कलाकार हेमराज अधिकारी (खन्टेखलास) ले दर्शकहरूलाई हँसाउने विशेष कार्यक्रम पनि प्रस्तुत गर्नेछन्।

    सांस्कृतिक सम्पदालाई उजागर गर्न ढाल तरबार नाच, स्यार्पु नाच र दमाय नाच जस्ता परम्परागत नृत्यहरूको प्रदर्शनी समेत कार्यक्रमको अर्को प्रमुख आकर्षण हुनेछ। स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्न चाहने संघ-संस्था तथा कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिन पाउनेछन्।

    यसैबीच, मेलाको अवसरमा व्यवसाय सञ्चालन गर्न चाहने उद्योगी तथा व्यापारीहरू का लागि स्टल बुकिङ्ग को व्यवस्था गरिएको छ। स्टल बुकिङ्ग सम्बन्धी थप जानकारीका लागि तिर्थराज रोकाया (९८४८३०४५५१, ९७६८००६१०५) लाई सम्पर्क गर्न सकिनेछ।

    प्रवेश शुल्क रु. १००/- तोकिएको छ, जसबाट संकलित रकम बाध्यवादन तथा साउण्ड सिस्टम व्यवस्थापन र जग्गा खरिद सहयोगार्थ खर्च गरिनेछ।

    सांस्कृतिक उत्सवमा सहभागी भई मौलिक परम्परालाई सम्मान गर्न सबैलाई आग्रह गरिन्छ। लोक संस्कृतिमा रमाउन, मनोरञ्जन लिन र आफ्नो समुदायको धरोहरलाई जगेर्ना गर्न यो सुनौलो अवसरलाई नछुटाउनुहोस्!

     

  • ८ चैत्र २०८१, शनिबार १३:५९ प्रकाशित

  • Nabintech