नेपालगन्जमा सामुदायिक कुकुर नियन्त्रणका लागि २८१ कुकुरको स्थायी बन्ध्याकरण

  • नमस्ते कर्णाली

  • ८, चैत्र २०८१
    बाँके ।नेपालगन्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न स्थायी बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ। उपमहानगरपालिकाको आर्थिक विकास समिति र पशु सेवा शाखाको आयोजनामा पाँच दिनसम्म सञ्चालन गरिएको शिविरमा २८१ वटा कुकुरको सफल बन्ध्याकरण गरिएको हो।
    नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनका अनुसार सामुदायिक कुकुरहरूको अनियन्त्रित वृद्धि रोक्नका लागि यो कदम चालिएको हो। पुनले भन्नुभयो, “कुकुरको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम र मानिसलाई टोक्ने घटनाहरू बढेकाले बन्ध्याकरण आवश्यक भएको हो।”
    गत वर्ष पनि नेपालगन्जमा यस्तै शिविर आयोजना गरिएको पुनले जानकारी दिनुभयो। उहाँका अनुसार पशु सेवा शाखाको सिफारिसमा यो वर्ष पनि २३ वटै वडाका छाडा कुकुरहरूलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको हो।
    शिविरका क्रममा कुकुरहरूलाई रेविजविरुद्धको खोप पनि लगाइएको पशु चिकित्सक आशिष थारूले बताउनुभयो। उहाँले सामुदायिक स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको उल्लेख गर्नुभयो।
    शिविरमा पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही, पशु स्वास्थ्य प्राविधिक शिव भुसाल लगायतका टोलीको सक्रिय सहभागिता रहेको थियो। स्थानीयवासीहरूले पनि सामुदायिक कुकुरहरूको संख्या नियन्त्रणमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।
    नेपालगन्ज उपमहानगरपालिकाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

  • ७ चैत्र २०८१, शुक्रबार ०८:३१ प्रकाशित

  • Nabintech