“तटबन्धन बिनाको बाँके बर्खामा डुबानमै डुब्छ” — संघीय सांसद ढकाल

  • नमस्ते कर्णाली

  • ८, चैत्र २०८१
    बाँके ।संघीय सांसद तथा बाँके क्षेत्र नम्बर १ का माननीय सुर्य ढकालले बाँकेको डुबान, कटान र तटबन्धनको समस्यालाई लिएर सभामुख मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले आउँदो आर्थिक वर्षमा तटबन्धन र पुल निर्माणका लागि बजेटको माग गरेका छन्।

    बिहीबार संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर सत्रमा बोल्दै सांसद ढकालले खल्ला, झगडिया, विश्वम्भरपुर र चुकेनाला क्षेत्रमा बर्खाअघि नै तटबन्धन नगरिए राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ र नरैनापुर गाउँपालिकाका सम्पूर्ण भूभाग डुबानमा पर्ने चेतावनी दिए। उनले भने, “यदि तत्काल तटबन्धनको काम अघि बढाइएन भने ६० हजारभन्दा बढी जनता विस्थापित हुने र हजारौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुने खतरा छ।”

    पक्की पुल निर्माणको माग

    सांसद ढकालले बाँके जिल्लामा चारवटा पक्की पुल निर्माणका लागि बजेटको व्यवस्था गर्न आग्रह गरेका छन्:

    राप्ती सोनारी वडा नम्बर १ कुसुमस्थित बैरिया-अम्बुवा जोड्ने पक्की पुल

    नरैनापुर गाउँपालिका मटैया हुँदै डुडुवा गाउँपालिकाको बेताहनी जोड्ने राप्ती नदीमाथि पक्की पुल

    राप्ती सोनारी वडा नम्बर २ कचनापुर, मधुवा खोला र राजपुरको परुवा खोलामा पक्की पुल

    राप्ती सोनारी वडा नम्बर ९ महादेवा खोलामा पक्की पुल

     

    खोलाहरूको तटबन्धनमा जोड

    सांसद ढकालले बाँकेको राप्ती नदी, डुडुवा, रोहिणी र अन्य दर्जनौं खहरे खोलाहरूको तटबन्धनका लागि उचित बजेटको व्यवस्था गर्न आग्रह गरेका छन्। उनले राप्ती सोनारी गाउँपालिकाका विभिन्न वडाहरूमा बहने खोकरी खोला, धुलिया खोला, बाँसखोली खोला, गाभर खोला जस्ता खोलाहरूले बर्खामा गाउँहरूमा डुबान ल्याउने भएकाले यथाशीघ्र तटबन्धन गर्नुपर्ने माग गरे।

    सांसद ढकालले भने, “हामीले समयमै तटबन्धनको व्यवस्था नगरेमा प्रत्येक वर्ष डुबानको समस्या झन् भयावह बन्नेछ।”

    उनले सभामुखमार्फत नेपाल सरकारसँग बर्खाअघि नै आवश्यक बजेटको व्यवस्थापन गर्न आग्रह गर्दै स्थानीय बासिन्दाहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। संसदमा उपस्थित सांसदहरूले पनि ढकालको भनाइलाई समर्थन गर्दै तटबन्धनको आवश्यकतामा जोड दिए।

     

  • ७ चैत्र २०८१, शुक्रबार ०८:२६ प्रकाशित

  • Nabintech