नेपालगन्जमा ‘स्वास्थ्यका लागि वाकाथन’, मन्त्रीदेखि स्थानीय जनप्रतिनिधिसमेत सहभागी हुने

  • नमस्ते कर्णाली

  • ७, चैत्र २०८१
    बाँके नेपाल चिकित्सक संघ भेरी शाखाको आयोजनामा नेपालगन्जमा प्रातःकालीन हिँडाइ (वाकाथन) हुने भएको छ। ‘स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ’ भन्ने मूल नारासहित यही चैत ९ गते शनिबार वाकाथन आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा. किशोर खत्रीले जानकारी दिनुभयो।

    नेपालगन्ज उपमहानगरपालिकामा आयोजित पत्रकार भेटघाटमा बालरोग विशेषज्ञ डा. खत्रीले स्वास्थ्य सचेतना विस्तार गर्न वाकाथनलाई अभियानकै रूपमा अघि बढाएको बताउनुभयो। उहाँले भन्नुभयो, “हिँड्नु स्वास्थ्यका लागि पहिलो आधार हो। म पूर्वराजा ज्ञानेन्द्र शाहदेखि विभिन्न राजनीतिक दलका उच्च पदाधिकारीहरूसँग विहानी हिँडाइमा सहभागी भइसकेको छु। अब नेपालगन्जबासीसँग सँगै हिँडेर यसको महत्व बुझाउने लक्ष्य लिएको छु।”

    नेपालगन्जको गणेशमान चोक नजिकै रहेको नेपाल चिकित्सक संघ, भेरी शाखाबाट सुरु हुने वाकाथन विरेन्द्र चोक पुगेर पुनः गणेशमान चोकमै आएर समापन हुने बताइएको छ। वाकाथनले स्वास्थ्य सचेतना विस्तार, नेपालगन्जको पर्यटकीय स्थलहरूको प्रवर्द्धन, र सामाजिक एकता मजबुत बनाउने उद्देश्य राखेको संयोजक डा. खत्रीले बताउनुभयो।

    नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले स्वस्थ जीवनका लागि हिँडाइ आवश्यक रहेको बताउँदै वाकाथन अभियानलाई स्थानीय सरकारको पूर्ण सहयोग रहने विश्वास दिलाउनुभयो। उहाँले भन्नुभयो “म आफैं पनि दैनिक ८–१० किलोमिटर हिँड्ने गर्छु। हिँडाइले शरीरलाई ऊर्जा दिन्छ र मानसिक तनाव कम गर्छ।”

    वाकाथनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्थानीय जनप्रतिनिधि, चिकित्सक, संचारकर्मी, र सर्वसाधारणको सहभागिता रहने कार्यक्रम संयोजक डा. खत्रीले जानकारी दिनुभयो।

    नेपालगन्जमा पहिलोपटक औपचारिक रूपमा आयोजना हुन लागेको यो वाकाथन स्वास्थ्यप्रति नागरिकलाई सचेत गराउने, स्वस्थ जीवनशैली अपनाउने प्रेरणा दिने, र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्यक्रम हुने आयोजकको अपेक्षा छ।

     

  • ६ चैत्र २०८१, बिहीबार १२:०२ प्रकाशित

  • Nabintech