७, चैत्र २०८१
बाजुरा।दुर्गम र गरिबीको प्रतिक मानिने बाजुराले पछिल्ला वर्षहरूमा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्दै जिल्लाबाट कृषि उपज निर्यात गर्ने क्रम बढाएको छ। कृषकहरूलाई अनुदान प्रदान गर्न थालेपछि उत्पादनमा बृद्धि भई स्थानीय उपज जिल्ला बाहिर निकासी हुन थालेको हो।
आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्म मात्रै बाजुराबाट २ करोड ४० लाख ३ हजार ८ सय रुपैयाँ बराबरको कृषि वस्तु निर्यात गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। भोकमरी र समस्याहरूको मात्र नभई सम्भावनाको पनि जिल्ला बाजुरा हो भन्ने कुरालाई यो तथ्याङ्कले पुष्टि गरेको छ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीका अनुसार जिल्लाबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफूल निर्यात गरिएको छ। विशेष गरी हिमाली क्षेत्रमा पाइने कोदोको माग शहरमा बढ्दै जाँदा कृषकहरू थप उत्साहित भएका छन्। आगामी वर्षमा उत्पादन र निर्यातमा थप वृद्धि हुने अनुमान गरिएको छ।
यस आर्थिक वर्षमा मात्रै:सिमी: १५ लाख ३० हजार रुपैयाँ बराबर
स्याउ: १८ लाख ९० हजार रुपैयाँ बराबर
आलु: ६५ लाख ४५ हजार रुपैयाँ बराबर
बन्दा: २४ लाख २८ हजार ८ सय रुपैयाँ बराबर
कागती: ६ लाख ४० हजार रुपैयाँ बराबर निर्यात भएको छ।
त्यसैगरी, १० लाख ४० हजार रुपैयाँ बराबरको २६ मेट्रिक टन कोदो, ४ लाख ८० हजार रुपैयाँ बराबरको सुन्तला र १६ लाख ४० हजार रुपैयाँ बराबरको फापर समेत जिल्ला बाहिर पठाइएको प्रमुख साहानीले जानकारी दिनुभयो।
कृषकहरूको उत्साह र उत्पादन वृद्धि गर्न कृषि ज्ञान केन्द्र बाजुराले चालु आर्थिक वर्षमा मात्रै १० लाख रुपैयाँ बराबरको ढुवानी अनुदान प्रदान गरेको छ। स्थानीय तहको समन्वयमा उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रमहरू लागू गर्दै बाजुरालाई आत्मनिर्भर बनाउन केन्द्र लागिपरेको छ।
स्थानीयस्तरमै उत्पादन भएको कृषि उपजलाई उचित मूल्यमा बारीबाटै खरिद गरिने व्यवस्था भएपछि कृषकहरू थप उत्साहित भएका छन्। कृषि उत्पादनमा देखिएको यो प्रगति बाजुराका लागि आत्मनिर्भरता र आर्थिक समृद्धितर्फको महत्वपूर्ण कदम सावित हुँदैछ।