कर्णालीका ३७ हजार बढी विद्यार्थी एसईईमा सहभागी, देशभर ५ लाख विद्यार्थीले दिए परीक्षा

  • नमस्ते कर्णाली

  • ७, चैत्र २०८१
    सुर्खेत ।देशभर आज बिहान ८ बजेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट यस वर्ष ३७ हजार ९११ जना विद्यार्थी सहभागी भएका छन्। कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो संख्या गत वर्षको तुलनामा २ हजार १०३ जनाले वृद्धि भएको हो।

    गत वर्ष कर्णालीमा ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। यसपटक नियमित, ग्रेड वृद्धि र प्राविधिक शिक्षातर्फ गरी विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ।

    कर्णालीका १० जिल्लामध्ये सुर्खेतबाट सबैभन्दा धेरै ९ हजार ५१३ जना विद्यार्थीले परीक्षा दिएका छन्। त्यसपछि दैलेखबाट ६ हजार १९६ जना, कालिकोटबाट ४ हजार ८९ जना, जाजरकोटबाट ४ हजार ६६८ जना र सल्यानबाट ४ हजार २६९ जना परीक्षामा सहभागी भएका छन्।

    अन्य जिल्लाहरूमा:
    जुम्ला: २६८१ जना
    हुम्ला: ११०४ जना
    मुगु: ९४६ जना
    डोल्पा: ७७७ जना
    रुकुम पश्चिम: ३६६८ जना
    यस वर्ष कर्णालीमा १८० वटा परीक्षा केन्द्र तोकिएको छ।
    देशभर ५ लाख १४ हजार ७१ जना विद्यार्थीले एसईई दिएका छन्। परीक्षाका लागि २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन्।
    विशेषगरी यस वर्ष जापानको परीक्षा केन्द्रबाट पनि २९ जना विद्यार्थीले परीक्षा दिएका छन्। साथै, केन्द्रीय कारागार सुनधारा र दैलेख कारागारमा समेत परीक्षा सञ्चालन गरिएको छ।

    सरकारले एसईई परीक्षा सञ्चालनका लागि २७ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ।
    त्यसमध्ये १७ करोड रुपैयाँ उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने शिक्षा मन्त्रालयले जनाएको छ। बाँकी रकम व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण र कर्मचारी खर्चमा प्रयोग हुने छ।
    राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षाको नतिजा आगामी असार ७ गतेभित्र सार्वजनिक गरिनेछ।
    परीक्षा सकिएपछि ९० दिनभित्र नतिजा प्रकाशित गर्ने योजना रहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन्।

    कर्णालीका दुर्गम भेगका विद्यार्थीहरू कठिनाइका बाबजुद परीक्षामा सहभागी भएको र उनीहरूको उत्साहजनक सहभागिता प्रदेशको शैक्षिक क्षेत्रको उज्जवल भविष्यको संकेत भएको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

     

  • ६ चैत्र २०८१, बिहीबार ११:५२ प्रकाशित

  • Nabintech