६, चैत्र २०८१
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई समयमै सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
दाङ क्षेत्र नं २ मा सङ्घीय सरकारको बजेटबाट निर्माणाधीन विभिन्न विकास योजनाको अनुगमनका क्रममा आज उहाँले स्थानीयवासीले योजना माग गरेजस्तै, अब ती योजनाहरू समयमै सम्पन्न गर्न र गुणस्तरमा सम्झौता नगर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
पूर्वमन्त्री शर्माले तुलसीपुर उपमहानगरपालिका–१८, १६ तथा घोराही उपमहानगरपालिका–९, १४ र १८ मा निर्माणाधीन सडकहरूको निरीक्षण गर्नुभयो। त्यस्तै, घोराही–१३ मा निर्माणाधीन भूपू सैनिक सङ्गठनको बहुउद्देश्यीय भवन, घोराही–१८ मा नेपाल मगर सङ्घको मगर सांस्कृतिक भवन तथा घोराही–१४ झिंगौरास्थित हरियाली पार्कको पनि उहाँले अवलोकन गर्नुभयो।
हरियाली पार्कमा पर्यटन मन्त्रालयको बजेटबाट रु ५३ लाखको लागतमा पर्खाल निर्माण भइरहेको छ। यसै पार्कभित्र रहेको सहिदहरूको प्रतिमा तीन वर्षअघि अज्ञात व्यक्तिले तोडफोड गरेकाले यसको पुनःनिर्माण गरिने पनि जानकारी गराइयो।
अनुगमनका क्रममा पूर्वमन्त्री शर्माले सडक विभाग, सघन सहरी विकास कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गर्दै विकास निर्माणमा देखिएको ढिलासुस्ती हटाउन आग्रह गर्नुभयो। साथै, निर्माण व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि, अधिकारीहरू तथा उपभोक्तासँग समेत योजनाको कार्यान्वयनबारे विस्तृत छलफल गर्नुभएको थियो।