६, चैत्र २०८१
बाँके ।रेडियो नेपालले आज मङ्गलवार नरैनापुरमा मदरसा शिक्षा र यसको महत्वबारे स्थलगत रेडियो बहस कार्यक्रम सम्पन्न गरेको छ। रेडियो नेपालका उप–निर्देशक गोकर्ण रेग्मी र वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरी द्वारा सञ्चालित कार्यक्रममा मदरसा शिक्षा राष्ट्रिय शिक्षाको मूल प्रवाहमा आउन नसकेको विषयमा गम्भीर छलफल गरिएको थियो।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह ले सरकारले मदरसालाई राहत शिक्षक, छात्रवृत्ति, पाठ्यक्रम खरिदका लागि अनुदान उपलब्ध गराउँदै आए पनि विद्यार्थीको पठनपाठन व्यवस्थित र वैज्ञानिक हुन नसकेको बताउनुभयो। उहाँका अनुसार यहाँका अधिकांश मदरसामा पर्याप्त भौतिक पूर्वाधार नहुँदा एउटै कोठामा विभिन्न तहका विद्यार्थीलाई सँगै राखेर पढाउनुपर्ने बाध्यता रहेको छ। गाउँपालिकाले मदरसा शिक्षाका लागि विशेष बजेट बिनियोजन गरी व्यवस्थापन सुधार गर्न काम गरिरहेको उहाँले जानकारी दिनुभयो।
सरकारले मुस्लिम समुदायका बालबालिकालाई राष्ट्रिय शिक्षाको मूल प्रवाहीकरणमा ल्याउने नीति लिए पनि मापदण्ड पूरा नगरी खोलिएका मदरसाहरूलाई कारबाही प्रक्रियामा ल्याउन नसक्दा यसमा चुनौती थपिएको अधिकारकर्मी अफसर अलि मुकेरी ले बताउनुभयो।
बाल अधिकारकर्मी साहिल अन्सारी ले परम्परागत रूपमा सञ्चालित मदरसा शिक्षालाई मूल प्रवाहीकरण वा सामुदायिकीकरण गर्नु सकारात्मक भए पनि मुस्लिम समुदायको धार्मिक आस्था, मूल्य र मान्यताका आधारमा थप व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। उहाँले व्यवस्थापनको कमजोरीले मदरसा शिक्षामा थप जटिलता आउन सक्ने भन्दै सरकारले स्पष्ट रणनीति लिनुपर्नेमा जोड दिनुभयो।
विपत शाखा प्रमुख भरत महतो का अनुसार अधिकांश मदरसाहरूको निरन्तर सञ्चालनका लागि आफ्नै स्थायी आयस्रोत नभएकाले विद्यार्थी शुल्कबाट मात्रै धान्न कठिन भइरहेको छ।
कार्यक्रमको सहजीकरण रेडियो नेपालका बाँके संवाददाता आलम खान ले गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले मदरसा शिक्षालाई व्यवस्थित गर्दै यसको मूल प्रवाहीकरणमा सरकारी नीतिलाई प्रभावकारी बनाउनुपर्नेमा एकमत जनाएका थिए।