५, चैत्र २०८१
बाजुरा।बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६, पाँडीका नरजित रावलले गाउँमै मौरी पालन व्यवसाय गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ। दुर्गम तथा भौगोलिक रूपमा विकट मानिने यो गाउँमा एक सयभन्दा बढी घार स्थानीय जातका मौरी पालन गर्दै उहाँले वार्षिक चार लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ।
चौध वर्षको उमेरमा मौरी पालन व्यवसाय सुरु गर्नुभएका रावल अहिले ६९ वर्षका हुनुहुन्छ। उहाँका बाजे र बुवाले पनि पारिवारिक रूपमा मौरी पालन गर्दै आएका थिए। त्यही परम्परागत सीपलाई निरन्तरता दिँदै रावलले आज व्यवसायिक रूपमा सफल उदाहरण प्रस्तुत गर्नुभएको छ।
परम्परागत मुडाबाट निर्मित मौरी घारमा उत्पादन हुने मह अर्ग्यानिक तथा जडिबुटीयुक्त हुने भएकाले ग्राहकहरू मह किन्न घरमै आउने गरेका छन्। पछिल्लो समय विदेशमा पनि महको माग बढ्दै गएको र यसले आफ्नो व्यवसाय विस्तार गर्न थप प्रेरित गरेको रावल बताउनुहुन्छ।
मह वार्षिक दुई पटक संकलन गर्न मिल्ने भएकाले आम्दानी आकर्षक रहेको छ। रावल गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बनेका मात्र होइनन्, उहाँले गाउँका अन्य युवाहरूलाई पनि रोजगारी सिर्जना गर्ने लक्ष्य राख्नुभएको छ। सरकारी निकायले आधुनिक मौरी पालन तालिमको व्यवस्था गरिदिए व्यवसायलाई अझ विस्तार गर्न सकिने उहाँको विश्वास छ।
बाजुराका हिमाली, खप्तड, छेडेदह, गौमुल गाउँपालिका तथा बडिमालिका, त्रिवेणी र बुढिनन्दा नगरपालिकाका अधिकांश किसानहरूले घरमा अनिवार्य रूपमा १–२ घार मौरी राख्ने गरे पनि व्यावसायिक रूपमा यो पेशा अँगाल्ने किसानको संख्या भने न्यून रहेको छ। यस्तो अवस्थामा रावलको सफलताको कथा अन्य स्थानीय किसान तथा युवाहरूका लागि प्रेरणादायी बन्न सक्छ।