५, फाल्गुन २०८१
हुम्ला।हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले निर्माण भइरहेको हिल्सा–सिमकोट सडक आयोजना बजेट र जनशक्ति अभावका कारण प्रभावित भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडक योजनाले आवश्यक स्रोतसाधनको अभावमा अपेक्षित प्रगति गर्न नसकेको आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताएका छन्।
आयोजनाका लागि स्वीकृत दरबन्दी अनुसार एक योजना प्रमुख, दुई इन्जिनियर र चार सबइन्जिनियरको आवश्यक पर्ने भए पनि हाल एक योजना प्रमुख, एक इन्जिनियर र एक सबइन्जिनियर मात्र कार्यरत छन्। हिमाली तथा दुर्गम क्षेत्र भएकाले यहाँ काम गर्न इच्छुक कर्मचारी नआएको र पटक–पटक लिखित अनुरोध गर्दा पनि जनशक्ति व्यवस्था नभएको प्रमुख नेपालीको गुनासो छ।
सडक आयोजनाअन्तर्गत पाँच वटा पक्की पुल निर्माणाधीन अवस्थामा छन्, जसमा नाम्खा गाउँपालिका–४ को याङ्गार खोला पुल, ताग्रु खोला पुल, हेप्का खोला पुल, खार्पुनाथ गाउँपालिका–५ को दोजाम पुल तथा सर्केगाड गाउँपालिकाको थाहा खोला पुल पर्छन्। त्यस्तै, सडक स्तरोन्नति योजनामा तुम्कोटदेखि हिल्सा, इलिङदेखि याल्वङ चौर, याल्वङ चौरदेखि च्याछरा तथा च्याछरादेखि सरिमासम्मका चार खण्ड निर्माणाधीन छन्।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा हिल्सा–सिमकोट सडकलाई प्राथमिकता दिनुपर्ने भए पनि बजेट व्यवस्थापनमा समस्या देखिएको छ। एक अर्ब ८२ करोड रुपैयाँ बजेट आवश्यक पर्ने आयोजनामा चालु आर्थिक वर्षमा सडकका लागि ३४ करोड ९९ लाख र पुलका लागि सात करोड ९० लाख मात्र निकासा गरिएको छ। बजेट अभावकै कारण एउटा पुल र दुई वटा सडकको अन्तिम मूल्याङ्कन भई बिल उठिसकेको भए पनि भुक्तानी दिन नसकिएको प्रमुख नेपालीले जानकारी दिए।
खार्पुको पक्की पुलका लागि चालु आर्थिक वर्षमा २० लाख मात्र बजेट विनियोजन भएको र त्यो बजेट पनि भुक्तानी भइसकेकाले हाल बजेटबिनै काम भइरहेको छ। विभागले बजेटको समस्या नरहेको मौखिक रूपमा भने पनि लिखित रूपमा कुनै आश्वासन नआएको प्रमुख नेपाली बताउँछन्।
यसरी आवश्यक स्रोत र जनशक्ति अभावका कारण राष्ट्रिय गौरवको यो आयोजना अपेक्षाकृत रूपमा अघि बढ्न सकेको छैन। यदि समयमा नै बजेट र जनशक्ति व्यवस्थापन हुन सकेन भने निर्माण कार्यमा थप ढिलाइ हुन सक्ने चिन्ता स्थानीय तथा सरोकारवालाहरूले व्यक्त गरेका छन्।