बैजनाथका परीक्षा केन्द्रमा सिसी क्यामेरा जडान, मर्यादित परीक्षा सुनिश्चित गरिने

  • नमस्ते कर्णाली

  • ४, चैत्र २०८१

    बाँके ।बैजनाथ गाउँपालिका क्षेत्रभित्रका परीक्षा केन्द्रमा सिसी क्यामेरा जडान गरिएको छ। आइतबार बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले विधिवत रूपमा सिसी क्यामेराको उद्घाटन गरेका हुन्।

    गाउँपालिकाले १२ वटा परीक्षा केन्द्रमा जडान गरेका क्यामेराहरू १३४ वटा कोठामा स्थापना गरिएका छन्। उद्घाटन समारोहमा अध्यक्ष शाहीले परीक्षालाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउन सिसी क्यामेरा जडान गरिएको बताए।

    बैजनाथमा आइतबारबाट कक्षा ८ को परीक्षा सुरु भइसकेको छ। साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम तयारीसमेत भइरहेको छ। सिसी क्यामेरा जडानसँगै परीक्षा केन्द्रको अनुगमन प्रभावकारी बनाइने गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताइन्।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार कक्षा ८ र एसईई दुवै परीक्षाका लागि निगरानी गर्न सबै परीक्षा केन्द्रमा क्यामेरा जडान गरिएको हो। यो व्यवस्था जिल्लाकै पहिलो भएको बताइएको छ।

    नेपाल शिक्षक महासंघ बैजनाथ गाउँपालिका अध्यक्ष कुलादेव भारतीले परीक्षा केन्द्रमा सिसी क्यामेरा जडान हुनु सकारात्मक पहल भएको बताए। गाउँपालिकाले सबै परीक्षा केन्द्रको निगरानी गाउँपालिका कार्यालयबाटै गर्ने व्यवस्था मिलाएको छ, जसले परीक्षामा अनुशासन र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।

  • ३ चैत्र २०८१, सोमबार १०:३० प्रकाशित

  • Nabintech