हुम्लामा एसईई परीक्षा तयारी पूरा, २०७ जना जनशक्ति परिचालन

  • नमस्ते कर्णाली

  • ४, चैत्र २०८१

    हुम्ला।हुम्ला जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। सात वटा परीक्षा केन्द्रका लागि २०७ जना जनशक्ति परिचालन गरिएको छ।

    यस वर्ष हुम्लामा सात वटा परीक्षा केन्द्र तोकिएको छ। अघिल्लो वर्षभन्दा एक बढी परीक्षा केन्द्र थपिएको हो। नयाँ परीक्षा केन्द्र खार्पुनाथ गाउँपालिकाको सीता माविमा तोकिएको छ। परीक्षाका लागि सात जना केन्द्राध्यक्ष, सात जना सहायक केन्द्राध्यक्ष, ५५ जना निरीक्षक, ११ जना सहकाय र २२ जना कार्यालय सहयोगी खटिएका छन्। साथै, प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

    हुम्लामा एक हजार १०४ जना परीक्षार्थीले एसईई परीक्षा दिने भएका छन्। यसमध्ये ९५० जना नियमित तथा १५४ जना ग्रेड वृद्धिका लागि परीक्षा दिनेछन्। गत वर्षको तुलनामा परीक्षार्थी संख्या घटेको देखिन्छ। २०८० सालमा १,१८८ जना तथा २०७९ सालमा १,१९६ जनाले परीक्षा दिएका थिए। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश आलेमगरका अनुसार जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि शहर सर्ने तथा केहीले पढाइ छोड्ने प्रवृत्तिका कारण परीक्षार्थी संख्या घटेको हो।

    यस वर्ष साधारण धारका ८६१ जना र प्राविधिक धारका ८९ जना परीक्षार्थी रहेका छन्। ग्रेड वृद्धितर्फ साधारण र प्राविधिक धारका गरी १५४ जना सहभागी हुनेछन्। कुल परीक्षार्थीमध्ये छात्राको संख्या ६२७ र छात्रको संख्या ४७७ रहेको छ।

    एसईई परीक्षा सञ्चालनका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र प्रवेशपत्र टाढाका परीक्षा केन्द्रहरूमा पुर्‍याइसकिएको छ। सदरमुकाम सिमकोटका लागि भने चैत ५ गतेसम्म ढुवानी सम्पन्न गरिनेछ। परीक्षा निष्पक्ष र मर्यादित बनाउन अनुगमन समिति पनि सक्रिय गरिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख आलेमगरले बताए।

    यस वर्ष हुम्लामा निम्न सात परीक्षा केन्द्र तोकिएका छन्:सिमकोट गाउँपालिका – मानसरोवर मावि र बाल मन्दिर मावि खार्पुनाथ गाउँपालिका – सीता मावि सर्केगार्ड गाउँपालिका – हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडीकोट अदानचुली गाउँपालिका – सूर्योदय मावि ताँजाकोट गाउँपालिका – मदानादेव मावि

    जिल्लाका २७ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू तोकिएको परीक्षा केन्द्रमा परीक्षा दिनेछन्। परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सबै तयारी पूरा भइसकेको परीक्षा समन्वय समितिले जनाएको छ।

  • ३ चैत्र २०८१, सोमबार १०:२२ प्रकाशित

  • Nabintech