४, चैत्र २०८१
बाँके ।बाँके प्रहरीले फागुन महिनामा मात्र विभिन्न अपराधमा संलग्न भई फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रनाउ) दीपक पातली का अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट १५ वर्ष २ महिना १८ दिन कैद सजाय र रु ४ लाख ३५ हजार ५५ जरिवाना असुल गरिएको छ।
प्रहरीले नेपालगन्जबाट रु १४ लाख ७१ हजार ८७५ बराबरको भन्सार छलीको सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ। साथै, अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिपर र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाउँदै रु ४८ हजार जरिवाना गरेको छ।
भारतबाट ल्याइएका रु ३ लाख ७६ हजार ८१० बराबरको अवैध बोइलर कुखुरा र मासु बरामद गरी पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाएर नष्ट गरिएको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए।
लागुऔषध ओसारपसारविरुद्ध कडा निगरानी राख्दै प्रहरीले १ किलो १०६ ग्राम ४१६ मिलीग्राम ब्राउन सुगर, ५ हजार ट्याब्लेट ट्रामाडोल, र ४ किलो २०० ग्राम चरेस बरामद गरी २२ जना तस्करलाई पक्राउ गरेको छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने ३६१४ सवारीसाधनलाई कारबाही गर्दै रु २९ लाख ११ हजार ५ सय राजस्व सङ्कलन गरिएको छ।
प्रहरीले सीमानाकाबाट ८१ महिला, बालबालिका, र ज्येष्ठ नागरिकलाई उद्धार गरेको छ भने अलपत्र अवस्थामा परेका १५ जनालाई संरक्षणका लागि सम्बन्धित संस्थामा पठाएको छ।
प्रहरीले बाँके जिल्लामा शान्ति सुरक्षाको सुदृढीकरण तथा अवैध गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा काम गरिरहेको जनाएको छ।