कर्णालीमा ३७० शैक्षिक पूर्वाधार निर्माण, १ अर्ब १० करोड बजेट विनियोजन

  • नमस्ते कर्णाली

  • ३, चैत २०८१

    सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्ष शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। बजेटको स्रोत सुनिश्चित गरेर मात्र निर्माण कार्य अघि बढाउने नीति लिइएको छ।

    यस वर्ष प्रदेशभर साना-ठूला गरी ३७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न लागिएको छ। अघिल्ला वर्षहरूमा बजेट अभावका कारण विद्यालय भवनहरू अलपत्र पर्ने गरेका थिए, तर यो वर्ष १ अर्ब १० करोड बजेट विनियोजन गरेर मात्र निर्माण कार्य अघि बढाइने शिक्षा मन्त्रालयका उपसचिव जवाहरलाल हमालले बताए।

    सुर्खेतसहित विभिन्न जिल्लामा शैक्षिक पूर्वाधार निर्माण कार्य धमाधम अघि बढेको छ। दर्जनभन्दा बढी क्याम्पसका भवन निर्माण गर्न बजेट सुनिश्चित भइसकेको छ। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान क्याम्पस निर्माणका लागि मात्र १ करोड बजेट छुट्याइएको छ।

    शिक्षा विकास निर्देशनालयका अनुसार ठेक्का सम्झौता भई विभिन्न विद्यालय र क्याम्पस भवन निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पस निर्माणका लागि डेढ करोड बजेट सुनिश्चित गरिएको छ।

    यस वर्ष स्थानीय सरकारलाई समेत जिम्मेवारी दिइएकाले काम छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ। शैक्षिक पूर्वाधार निर्माणलाई मजबुत बनाएर प्रदेशमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सरकारको लक्ष्य रहेको छ।

  • २ चैत्र २०८१, आईतवार १२:०४ प्रकाशित

  • Nabintech