२९, फाल्गुन २०८१
जुम्ला ।जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानी गाउँका विष्णुदत्त न्यौपाने र तातोपानी गाउँपालिका-७ सर्मी गाउँका राजेन्द्र कुवँर अहिले आफ्नै मेहनतले जीवनको बाटो कोरिरहेका छन्। उनीहरू होर्डिङ बोर्ड, साइनबोर्ड, टेबल प्लेट, नेम प्लेट, भित्ते लेखन तथा ब्यानर बनाउने काममा संलग्न छन्।
विष्णुदत्त न्यौपाने: संघर्षबाट स्थापित कलाकार
विष्णुदत्त न्यौपानेको बाल्यकालदेखि नै चित्रकला र लेखनमा विशेष रुचि थियो। सानै उमेरमा कापीका पानामा रंग भर्ने उनको बानी नै भविष्यमा व्यवसाय बन्न पुग्यो। १६ वर्षदेखि ‘एस.एन आर्ट’ सञ्चालन गर्दै आएका न्यौपाने हाल जुम्लाको सदरमुकाम खलंगामा व्यवसाय सञ्चालन गरिरहेका छन्। सरकारी तथा गैरसरकारी कार्यालयहरूका ब्यानर, उपभोक्ता समितिका होर्डिङबोर्ड तथा अन्य कलात्मक लेखन कार्यमा उनी व्यस्त रहन्छन्।
कर्णालीका प्रकृति, नदी, ताल, भौगोलिक बनावट, जडीबुटी, रहनसहनदेखि पर्यटकीय गन्तव्यको चित्र बनाउने उनको विशेष सीप छ। केही समयअघि उनले जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य गिडीदह को चित्र बनाएर विभिन्न स्थानमा राखेका छन्। यो चित्रले कर्णालीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।
विष्णुदत्त न्यौपानेले रु तीन लाख लगानीबाट व्यवसाय सुरु गरेका थिए। उनको मेहनतकै कारण अहिले उनीसँग १४ लाख बराबरको सम्पत्ति रहेको छ। लेखन व्यवसायबाटै उनले दुई छोरीलाई काठमाडौंमा उच्च शिक्षा दिलाइरहेका छन् भने छोरा जुम्लामै निजी विद्यालयमा अध्ययनरत छन्। वार्षिक १ लाखभन्दा बढी आम्दानी गर्दै आएका उनी आफ्नो पेशाबाट सन्तुष्ट छन्।
राजेन्द्र कुवँर: कला र सीपको मिश्रण
३२ वर्षीय राजेन्द्र कुवँरले पाँच वर्षदेखि जुम्लाको सदरमुकाम खलंगामा ‘जनता आर्ट’ सञ्चालन गरिरहेका छन्। बाल्यकालदेखि नै चित्रकलाप्रति रुचि राख्ने उनले १२ कक्षा अध्ययनपछि यसै क्षेत्रमा करिअर बनाउने निर्णय गरे। सात वर्षअघि उनी सुर्खेत झरेर बुद्ध आर्ट्स मा १४ महिना तालिम लिए। अहिले उनी व्यावसायिक रूपमा होर्डिङ बोर्ड, साइनबोर्ड, ब्यानर तथा भित्ते लेखनमा सक्रिय छन्।
विदेशी रोजगारको मोह त्यागेर गाउँमै श्रम गरेर आत्मनिर्भर बन्ने निर्णय गरेका कुवँर मासिक ३० देखि ४० हजारसम्म आम्दानी गर्छन्। उनको आम्दानीबाट सातजनाको परिवार सहजै चलिरहेको छ।
विष्णुदत्त र राजेन्द्र दुवैले प्रविधिको विकाससँगै आफ्नो व्यवसायमा चुनौती बढेको महसुस गरेका छन्। पहिले हातले लेखिने साइनबोर्ड, ब्यानरहरू अहिले डिजिटल प्रिन्टिंगले विस्थापित गर्दै लगेको छ। “पहिले भित्ते लेखन र साइनबोर्ड लेख्न समय नै पुग्दैनथ्यो, अहिले धेरै व्यवसायीहरूले फ्लेक्स प्रिन्टिङ अपनाएका छन्,” उनीहरू बताउँछन्।
तर, उनीहरू आफ्नो सीपलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढ्ने सोच बनाइरहेका छन्। “कलाको मूल्य कहिल्यै घट्दैन, केवल समयअनुसार ढाल्न आवश्यक हुन्छ,” विष्णुदत्त न्यौपाने भन्छन्।
विष्णुदत्त न्यौपाने र राजेन्द्र कुवँर जस्ता कलाकारहरूले आफ्नै सीप र मेहनतबाट जुम्ला र कर्णालीलाई पहिचान दिलाइरहेका छन्। डिजिटल प्रविधिले चुनौती सिर्जना गरे पनि उनीहरू कलामा आधुनिकता मिसाएर अगाडि बढ्न चाहन्छन्। आत्मनिर्भर बन्न चाहने हरेक युवाका लागि उनीहरूको संघर्ष प्रेरणादायी छ।