नेपालगञ्जमा १०० दिनको न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन, ६८ श्रमिक संलग्न

  • नमस्ते कर्णाली

  • २८, फाल्गुन २०८१

    बाँके ।नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सूचीकृत बेरोजगार व्यक्तिहरूलाई लक्षित गरी १०० दिनको न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन गरिएको छ। हाल नेपालगञ्जका वडा नम्बर १९, २०, ২১, र २३ मा ५६ महिला र १२ पुरुष गरी कुल ६८ जना श्रमिक विभिन्न योजनामा संलग्न छन्।

    उक्त कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाको सहकार्यमा अगाडि बढाइएको हो। यसले बेरोजगार श्रमिकहरूलाई निश्चित अवधिसम्म रोजगार प्रदान गर्नुका साथै सीपमूलक तालिमद्वारा दक्ष बनाउने लक्ष्य राखेको छ।

    कार्यक्रम अन्तर्गत विभिन्न पूर्वाधार निर्माण तथा सुधारका कार्यहरू सञ्चालन भइरहेका छन्, जसमा खानेपानी पाइप विस्तार, पर्यटकीय क्षेत्र व्यवस्थापन, विद्यालय सुधार, बाटो निर्माण तथा मर्मत, कुलो निर्माण लगायतका योजनाहरू समावेश छन्।

    सफल कार्यान्वयनका लागि निरन्तर अनुगमन

    कार्यक्रमलाई प्रभावकारी बनाउन नियमित फिल्ड अनुगमन गरिएको छ। श्रमिकहरूलाई सहज वातावरणमा काम गराउन प्राविधिक सहायक कमला ओलीले निरन्तर सहजीकरण गरिरहनुभएको छ।

    रोजगार संयोजक मञ्जु ज्ञवालीका अनुसार, कार्यक्रमले केवल अस्थायी रोजगारी प्रदान गर्ने मात्र नभई सहभागीहरूलाई दीर्घकालीन रूपमा सक्षम बनाउने उद्देश्य राखेको छ। यस कार्यक्रमले स्थानीय तहमा रोजगारी सिर्जना गर्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।

    वडा अध्यक्षहरूका अनुसार, यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायका सबै पक्षको सहयोग आवश्यक रहेको छ। नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप कुमार बर्माले, आगामी दिनमा कार्यक्रमलाई अन्य वडाहरूमा समेत विस्तार गर्ने योजना रहेको जानकारी गराउनुभएको छ।

    यस पहलले स्थानीय समुदायलाई रोजगारी प्रदान गर्नुका साथै सामुदायिक विकासका योजनाहरूलाई सफलतापूर्वक अगाडि बढाउने विश्वास गरिएको छ।

  • २८ फाल्गुन २०८१, बुधबार ०८:२५ प्रकाशित

  • Nabintech