२७, फाल्गुन २०८१
बाँके ।कपिलवस्तु जिल्लामा बालिका शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले प्रवोधीकरण कार्यक्रम सम्पन्न भएको छ। रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा, कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, र मायादेवी गाउँपालिकाको समन्वय तथा पिस नेपालको व्यवस्थापनमा सञ्चालन हुने बालिका शिक्षा तथा साक्षरता कार्यक्रम प्रभावकारी बनाउन उक्त प्रवोधीकरण कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, पत्रकार, गैरसरकारी संस्था महासंघका प्रतिनिधि लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा रुम टु रिडका दिनेश पोख्रेल र दिल ब. धामीले बालिका शिक्षा तथा साक्षरता कार्यक्रमको उद्देश्य, महत्त्व र यसको प्रभावकारीताबारे जानकारी गराएका थिए।
बालिका शिक्षा कार्यक्रमको उद्देश्य बालिकाहरूलाई आधारभूत तथा उच्च शिक्षामा सहभागी गराई उनीहरूलाई आत्मनिर्भर बनाउने हो। यस कार्यक्रमले विद्यालयमा नाम लेखाएका तर नियमित अध्ययन गर्न नसक्ने तथा कमजोर आर्थिक स्थितिका कारण शिक्षा अधुरो राख्न बाध्य बालिकाहरूलाई लक्षित गरी छात्रवृत्ति, पाठ्यपुस्तक, तथा शिक्षासम्बन्धी आवश्यक सामग्री प्रदान गर्दछ। साथै, बालिकाहरूलाई आत्मविश्वास बढाउने जीवन उपयोगी सीपसम्बन्धी तालिमहरू समेत दिइनेछ।
बालिका शिक्षा कार्यक्रमको प्रभावकारीता यस कार्यक्रमले हजारौं बालिकाहरूलाई विद्यालयसम्म पुर्याउन सफल भएको छ। शिक्षामा पहुँच बढेपछि बालिका बालविवाह तथा घरेलु हिंसाबाट सुरक्षित हुने, आत्मनिर्भर बन्ने, रोजगारको अवसर पाउने तथा समग्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नेछन्।
साक्षरता कार्यक्रमको उद्देश्य प्राथमिक तहका विद्यार्थीहरूको आधारभूत साक्षरताको स्तर उकास्नु हो। विशेष गरी कमजोर सिकाइ क्षमताका बालबालिकाहरूलाई लक्षित गर्दै उनीहरूलाई प्रभावकारी सिकाइ विधि तथा गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराइनेछ।
साक्षरता कार्यक्रमको प्रभावकारीता यस कार्यक्रमका कारण प्रारम्भिक तहमा अध्ययन गर्ने बालबालिकाहरूको पढ्ने तथा लेख्ने क्षमतामा उल्लेखनीय सुधार देखिएको छ। अभिभावक र समुदायलाई पनि शिक्षाको महत्त्वबारे जानकारी गराइएकाले बालबालिकाहरूलाई विद्यालय पठाउने दर बढ्दै गएको छ।
सस्थाका प्रोग्राम म्यानेजर योगेन्द्र बुढाले बालिका शिक्षा र साक्षरताको दीर्घकालीन महत्त्वबारे चर्चा गर्दै, कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उपस्थित सरोकारवालाहरूले पनि यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।