२७, फाल्गुन २०८१
सुर्खेत ।कर्णाली प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्न साना सिँचाइ कार्यक्रमलाई प्राथमिकता दिएको छ। खेतबारीमा सिँचाइ सुविधा पुर्याउन विभिन्न योजना कार्यान्वयन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार साना सिँचाइ आयोजना निर्माण तथा मर्मतका लागि ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ। प्रदेशका १० वटै जिल्लामा आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिने छ।
ठूला सिँचाइ आयोजनाले धेरै समय लाग्ने भएकाले साना सिँचाइ योजनाहरूलाई अघि बढाइएको हो। कुला तथा आकासे पानी सङ्कलन पोखरी निर्माण गरी खेतबारीमा सिँचाइ सुविधा विस्तार गरिनेछ। चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटेर यो योजना अघि बढाइएको छ।
हालसम्म कर्णालीमा जम्मा २८.८ प्रतिशत मात्र जमिन सिँचित रहेको छ। सुर्खेतमा सबैभन्दा बढी ६६ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ भने कर्णालीका अन्य जिल्लामा औसत ५६.८ प्रतिशत जमिनमा मात्र सिँचाइ व्यवस्था छ।
कृषि गणना अनुसार कर्णाली प्रदेशमा मुख्य रूपमा धान, मकै र गहुँ खेती हुने गर्छ। २९,२४१ हेक्टर क्षेत्रफलमा धान, ४०,०८३ हेक्टरमा मकै, र ५१,०२६ हेक्टरमा गहुँ खेती गरिन्छ।
सिँचाइ अभावका कारण धेरै जमिन बाँझो रहँदै आएकोले साना सिँचाइ योजनाले उत्पादन र उत्पादकत्व वृद्धि गर्न मद्दत गर्ने विश्वास गरिएको छ।