नेपालगञ्जमा १६ हप्ते आइपिएम कृषक पाठशाला समापन, कृषि आत्मनिर्भरतातर्फ नगरको प्रतिबद्धता

  • नमस्ते कर्णाली

  • २७, फाल्गुन २०८१


    बाँके ।नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित १६ हप्ते एकीकृत कीट व्यवस्थापन (IPM) कृषक पाठशाला को समापन भएको छ। आर्थिक विकास समिति अन्तर्गत कृषि विकास शाखाको आयोजनामा सम्पन्न समापन तथा कृषक दिवस कार्यक्रम वडा नम्बर १९, फाराम टोलमा सम्पन्न भएको हो।

    कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समिति सदस्य तथा कार्यपालिका सदस्य सङ्गीता रेग्मीको अध्यक्षता, नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता, तथा आर्थिक विकास समिति संयोजक गोपाल पुनको विशिष्ट आतिथ्यता रहेको थियो।

    नगर प्रमुख विष्टले कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउने, वास्तविक किसानको पहिचान गर्ने, तथा नेपालगञ्जलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने योजना कार्यान्वयन गरिने बताए। विशिष्ट अतिथि पुनले कृषिलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।

    आइपिएम प्रविधिबाट गरिएको खेतीमा बन्दा प्रति कठ्ठा ४२ क्विन्टल उत्पादन भएको तथ्याङ्क प्रस्तुत गरिएको छ। समापन कार्यक्रममा कृषि शाखा प्रमुख अम्बिका रिजालले पाठशालाको प्रतिवेदन प्रस्तुत गरे भने पूर्व बागवानी विकास अधिकृत शम्भु नाथले आइपिएम पाठशालाको सान्दर्भिकता र महत्वबारे प्रकाश पारे।

    कार्यक्रम कृषि शाखाका नायब प्राविधिक सहायक भुवन प्रसाद पन्तको सञ्चालनमा सम्पन्न भएको थियो, जहाँ कृषकहरूका नृत्य तथा विविध प्रस्तुति समेत समावेश गरिएका थिए।

  • २७ फाल्गुन २०८१, मंगलवार ११:०६ प्रकाशित

  • Nabintech