गुठिचौरको डिल्लीकोटमा ‘एक घर, एक ग्यास चुलो’ अभियान, स्थानीय हर्षित

  • नमस्ते कर्णाली

  • २६, फाल्गुन २०८१

    जुम्ला।जुम्लाको गुठिचौर गाउँपालिका-१ डिल्लीकोट गाउँका ५० घरपरिवारलाई ‘एक घर, एक ग्यास चुलो’ अभियान अन्तर्गत निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण गरिएको छ। वातावरण संरक्षण तथा वन जोगाउन थालिएको यो अभियानले स्थानीयवासीलाई धुवाँरहित भान्साको सुविधा उपलब्ध गराएको छ।

    ग्याँस चुलो पाएपछि गाउँलेहरू दंग परेका छन्। स्थानीय लालकोसा कामीले भनिन्, “वर्षौंदेखि धुवाँले आँखामा समस्या पिरोल्थ्यो, अहिले ग्यास चुलोमा खाना पकाउन पाउँदा धेरै खुसी छौं।”

    वडाअध्यक्ष अर्जुनकुमार महताराले आर्थिक रूपमा पछाडि परेका दलित समुदायलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको बताए। उनले भने, “दाउराको प्रयोगले वातावरणमा असर पार्ने भएकाले वन फँडानी रोक्न तथा वातावरण संरक्षणका लागि ग्यास चुलो वितरण गरिएको हो।”

    गाउँका बासिन्दाले दाउराको खपत घट्ने भएकाले बनजंगल जोगिने विश्वास लिएका छन्। स्थानीय हैता कामीले भने, “ग्याँस चुलो पाएपछि जंगलको दोहन कम हुनेछ।” वडाले रु. ५ लाखको लागतमा यो कार्यक्रम सञ्चालन गरेको हो।

    गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले यो अभियान अनुसरणीय रहेको बताइन्। उनले भनिन्, “वातावरण संरक्षणका लागि यो कार्यक्रम प्रभावकारी छ, अन्य वडाले पनि सिक्न जरुरी छ।”

    स्थानीय चन्द्र सार्कीका अनुसार, ग्यास चुलो पाएपछि गाउँलेहरू निकै उत्साहित भएका छन्। उनले भने, “निःशुल्क ग्यास चुलो र भरिएको सिलिन्डर पाएपछि हामीलाई ठूलो राहत मिलेको छ।”

    यस अभियानले वातावरण संरक्षण, वन जोगाउने प्रयास तथा महिलाहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

     

  • २६ फाल्गुन २०८१, सोमबार ११:४३ प्रकाशित

  • Nabintech