२६, फाल्गुन २०८१
बाँके ।बाँके जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालयले पूर्वतयारी तीव्र पारेको छ। सम्भावित जोखिमयुक्त वन क्षेत्रमा नियमित अनुगमन, ‘फायरलाइन’ निर्माण, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेजस्ता उपायहरू अपनाइएका छन्।
जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताका अनुसार डढेलो नियन्त्रणका लागि रु ३० लाखको लागतमा ‘फायर एम्बुलेन्स’ निर्माण भइरहेको छ। “केही दिनमै तयार हुने फायर एम्बुलेन्समा एक पटकमा छ हजार लिटर पानी राख्न सकिन्छ। यो एम्बुलेन्सबाट डढेलो लागेको क्षेत्रमा एक सय फिटसम्म पानी छर्न सकिनेछ,” उहाँले जानकारी दिनुभयो।
डढेलो नियन्त्रणमा सहायता पुग्ने गरी करारमा १५ अग्नि हेरालु नियुक्त गरिनुका साथै १८ वटा सामुदायिक वन समूहलाई परिचालन गरिएको छ। स्थानीय समुदायलाई सचेत गराउने उद्देश्यले प्रचारप्रसार तथा सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेको वन प्रमुख गुप्ताले बताउनुभयो।
“समुदायस्तरमा डढेलो लाग्न नदिन अपनाउनुपर्ने उपाय, नियन्त्रणका विधि, तथा आवश्यक सावधानीबारे जानकारी प्रदान गरिएका छन्। साथै, वन समूहहरूसँग निरन्तर छलफल र सहकार्य भइरहेको छ,” उहाँले भन्नुभयो।
यसै क्रममा चक्ला वन क्षेत्रमा सात जना अग्नि नियन्त्रक नियुक्त गरिएका छन् भने वरुण यन्त्र (अग्नि नियन्त्रणका लागि विशेष उपकरण) खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।
गत वर्ष बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनका करिब ५,१३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो। यस वर्ष समयमै आवश्यक सतर्कता अपनाइएकाले डढेलोको जोखिम न्यून हुने अपेक्षा गरिएको छ।