२६, फाल्गुन २०८१
बाँके ।बाँके जिल्लाका आठ स्थानीय तहहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आपसी समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले साझा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाको अध्यक्षतामा सम्पन्न अन्तरपालिका समन्वय बैठकमा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान, पूर्व तयारी, प्रतिकार्य, मानवीय सहायता तथा प्राविधिक सहयोगका विषयमा छलफल भएको थियो। नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरूबीच सहकार्य अत्यावश्यक रहेको बताउँदै भने, “विपद् व्यवस्थापनमा आपसी सहयोग र हातेमालो आवश्यक छ, अन्तरपालिका समन्वयले विपद् विरुद्ध जुध्न आत्मबल प्रदान गर्छ।”
११ बुँदे समझदारीपत्रमा विपद् व्यवस्थापनका असल अभ्यास र सिकाइहरू आदानप्रदान गर्ने, एक स्थानीय तहले अर्को स्थानीय तहलाई आवश्यक परेको खण्डमा मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने, आपत्कालीन उद्धार तथा राहतका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, अस्थायी आवासलगायत सामग्री भण्डारण गर्ने लगायतका विषय समेटिएका छन्।
समझदारीपत्रअनुसार आगलागी, भूकम्प, बाढी जस्ता विपद्को समयमा कुनै स्थानीय तहले दमकल वा एम्बुलेन्स सेवा माग गरे तुरुन्त उपलब्ध गराउनुपर्नेछ। साथै, विपद् सूचना प्रणालीलाई प्रभावकारी बनाउन सबै स्थानीय तहहरूले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने तथा विपद् व्यवस्थापन कोषको व्यवस्था गरी आवश्यक स्रोत परिचालन गर्ने सहमति गरिएको छ।
बैठकमा नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका, जिल्ला समन्वय समिति, प्रमुख प्रशासकीय अधिकृतहरू, विपद् फोकल पर्सनलगायतको उपस्थिति थियो।
नेपालगञ्ज उपमहानगरपालिकामा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडीपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारीमा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ। यस परियोजनाले विपद् पूर्व तयारी र प्रतिकार्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।