सरला सुवेदी
२५, फाल्गुन २०८१
बाँके । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्दै आएको ‘पूर्णिमा साहित्य रत्न–२०८०’ सम्मान प्राडा देवी नेपाललाई प्रदान गरिएको छ। शनिबार कोहलपुरमा आयोजित विशेष समारोहमा उहाँलाई २५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो।
त्यसैगरी, ‘तुलसीराम स्मृति पुरस्कार–२०८०’ बाट नेपालगन्जका पुराना साहित्यकार गणेश जिसीलाई सम्मान गरिएको छ। उक्त पुरस्कारको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ। दुवै साहित्यकारलाई प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले सम्मान गर्नुभएको हो।
साहित्य स्रष्टाहरूलाई सम्मान गर्दै प्रमुख अतिथि ढकालले साहित्यको सामाजिक भूमिकामाथि प्रकाश पार्दै भन्नुभयो, “साहित्य समाजको ऐना हो। यसले इतिहास र संस्कृतिलाई सुरक्षित राख्नका साथै समाजलाई एकतामा बाँध्ने काम गर्छ।” उहाँले साहित्य परिवर्तनको पक्षमा रहनुपर्ने उल्लेख गर्दै भन्नुभयो, ।
“साहित्य सामाजिक एकता, सद्भाव र राष्ट्रियताको पक्षमा हुनु जरुरी छ। अन्याय, अत्याचार र उत्पीडनको विरोधमा कलम चलाउनु साहित्यको धर्म हो।”
सांसद ढकालले पूर्णिमा साहित्य प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “पूर्णिमाले साहित्यमार्फत कोहलपुरलाई चिनाएको छ। यसको संस्थागत विकास आवश्यक छ। मेरो कार्यकालभित्रै नयाँ पक्की भवन निर्माणका लागि पूर्ण सहयोग गर्नेछु,” उहाँले भन्नुभयो।
त्यसैगरी, प्रदेश सभा सदस्य बसन्ती अधिकारीले साहित्य र साहित्यकारलाई नजिकबाट चिनेको उल्लेख गर्दै आफू सधैं साहित्यको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “साहित्यले समाजमा जागरण ल्याएको छ। लेख, रचना र साहित्यको माध्यमबाट समाजमा सकारात्मक सोच र चेतना फैलाउन सकिन्छ।” उहाँले साहित्यको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै पूर्णिमा साहित्य प्रतिष्ठानको स्थायित्वका लागि आफू सदैव सहकार्य गर्न तत्पर रहने बताउनुभयो
पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुस्कर रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘संघर्ष सङ्गाती’ को दोस्रो श्रृङखला सम्पन्न भयो। यस क्रममा प्राडा जनार्दन आचार्य र किरण आचार्य बीच जीवन संघर्ष, उपलब्धि, शिक्षा र साहित्यसम्बन्धी अन्तरसंवाद भएको थियो।
कार्यक्रममा छन्द कवि प्राडा देवी नेपालले आफ्ना चर्चित कविताहरू वाचन गरिन्। बाँकेका दर्जनौँ साहित्यकारहरूको उपस्थिति रहेको समारोह साहित्य प्रेमीहरूका लागि विशेष क्षण बन्यो।