मुख्यमन्त्री कोहलपुर गोल्डकप: आज काँक्रेविहार र राइजिङ स्टार बिच खेल हुँदै 

  • नमस्ते कर्णाली

  • २२, फाल्गुन २०८१
    बाँके ।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको छैटौँ दिन आज काँक्रेविहार फुटबल क्लब, सुर्खेत र राइजिङ स्टार फुटबल क्लब, नवलपरासीबीच प्रतिस्पर्धा हुने भएको छ। अफ्रिकाको घाना टिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको काँक्रेविहार क्लबलाई फाइनल यात्रा सुनिश्चित गर्न कडा चुनौती रहेको छ।
    दुवै टोलीमा राष्ट्रिय खेलाडीहरूको उपस्थिति भएकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आयोजक रेसिङ साहारा क्लबका खेल संयोजक कर्ण बस्नेतले बाँकेवासीलाई खेल अवलोकन गर्न विशेष आग्रह गर्नुभएको छ। “देश-विदेशका अनुभवी खेलाडीहरूको उत्कृष्ट प्रदर्शन आफ्नै गाउँ-घरको मैदानमा हेर्न पाउनु खेलप्रेमीका लागि सुनौलो अवसर हो,” संयोजक बस्नेतले भन्नुभयो।
    रेसिङ साहारा क्लबले पश्चिम नेपालमा पहिलो पटक प्याराफिटविनाको खेल मैदानमा रु. ५० टिकट दर तोकी खेल हेर्ने अवसर प्रदान गरेको छ। हिजो मात्र १,०३५ टिकट बिक्री गरी क्लबले रु. ५१,७५० आम्दानी गरेको थियो, भने मंगलबारको खेलमा करिब रु. ६०,००० आम्दानी भएको थियो।
    खेल अवधिभर स्थानीय पर्यटन, कला-संस्कृति तथा खानाका स्वादहरूको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। खेलाडीहरूलाई कोहलपुरको हात्तिसार, बैजनाथको गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका पर्यटकीय स्थलहरू अवलोकन गराउने कार्यक्रमसमेत रहेको आर्थिक संयोजक चेतकान्त भट्टराईले जानकारी दिनुभयो।
    फाल्गुन १७ गतेदेखि सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप फाइनल खेलसहित फाल्गुन २४ गते समापन हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ८ लाखसहित मेडल प्राप्त गर्नेछ भने उपविजेताले रु. ४ लाखमा चित्त बुझाउनुपर्नेछ।

  • २२ फाल्गुन २०८१, बिहीबार ०७:४१ प्रकाशित

  • Nabintech