२०, फाल्गुन २०८१
बाँके ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा हुने बताउँदै सरकार परिवर्तनको कुनै खेलमा नरहेको स्पष्ट पार्नुभएको छ।
कैलालीको टिकापुरमा आयोजना हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।
“अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरु देखिनै भन्दै आएका हौं,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “सरकारले गरिरहेका गतिविधिहरू जनताले बुझ्दै गएका छन्, त्यसैले यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई त्यति नै फाइदा हुन्छ। हामी जनतासँग छौं, जनतासँगको सम्बन्ध अझै बलियो बनाउँदै छौं।”
उहाँले तथाकथित “दुई-तिहाइको राग” अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको आरोप लगाउँदै अध्यादेश पास हुने अवस्था नरहेको दाबी गर्नुभयो।
“केही अध्यादेश त पास नहुने दिशातिर गइसके, बाँकी पनि पास हुने जस्तो देखिँदैन। भए पनि तीबाट जनतालाई कुनै फाइदा हुने छैन,” उहाँले भन्नुभयो।
अध्यक्ष प्रचण्डले जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान पार्टीको संगठन विस्तारसँगै राष्ट्रिय एकता मजबुत बनाउन केन्द्रित रहेको बताउनुभयो।
“हामी नेताहरू अभियानको नाममा भाषण गरेर फर्कने मात्रै गरिरहेका छैनौं,” उहाँले भन्नुभयो, “हामी स्थानीय जनताको घरमै बस्छौं, उनीहरूले खाने खाना नै खान्छौं, उनीहरूका समस्याबारे छलफल गर्छौं।”
उहाँका अनुसार, जनतासँगको संवादसँगै उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसिएसनजस्ता नागरिक समाजका अगुवा संस्थाहरूसँग पनि छलफल गरिँदै आएको छ, जसले सम्बन्धित जिल्लाको वस्तुस्थितिलाई बुझ्न अझ सजिलो बनाएको छ।
अभियान सम्पन्न हुँदासम्म माओवादी केन्द्र र जनताबीचको सम्बन्ध अझ गहिरो हुने अध्यक्ष प्रचण्डको विश्वास छ।