२०, फाल्गुन २०८१
बाँके ।बैजनाथ गाउँपालिकामा पहिलो पटक खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल खेलकुद महासंघ बैजनाथ गाउँपालिका समितिको आयोजनामा प्रतियोगिता फागुन २२ गतेदेखि बैजनाथ-३, बेरबास खेलमैदानमा सुरु हुनेछ।
स्थानीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा बैजनाथ गाउँपालिकाका टिमहरूबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिमले रु. १५,०००, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई रु. १०,००० नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। खेलाडीहरूले सहभागी हुन नेपाली नागरिकताको प्रतिलिपि र एक प्रति फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
प्रतियोगितामा भाग लिन टिमहरूले फागुन २० गते साँझ ७ बजेसम्म दर्ता गर्नुपर्नेछ, जसका लागि दर्ता शुल्क रु. १,४०५ तोकिएको छ। दर्ता स्थान बैजनाथ-४, बानियाभार बजार (राइट लर्नर कम्प्युटर एण्ड प्लाजमा) निर्धारण गरिएको छ। खेलसम्बन्धी कुनै विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय अन्तिम मानिनेछ।
नेपाल खेलकुद महासंघ बैजनाथ समितिका अध्यक्षका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीहरूलाई खेलकुद प्रवर्द्धन गर्दै प्रतिस्पर्धात्मक अनुभव दिलाउनु हो। युवा समाजसेवी यज्ञ बहादुर पुन मगरका अनुसार यो प्रतियोगिता स्थानीय प्रतिभा पहिचान गर्ने अवसर हुने भएकाले खेलप्रेमीहरूले प्रतियोगितालाई समर्थन गर्नुपर्ने आवश्यकता छ।
आयोजक समितिले स्थानीयवासी तथा खेलप्रेमीहरूलाई खेलाडीहरूलाई हौसला प्रदान गर्न मैदानमा उपस्थित हुन अनुरोध गरेको छ। प्रतियोगिता स्थानीय खेलकुद क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।