२०, फाल्गुन २०८१
बाँके ।राप्ती सोनारी गाउँपालिका-८, शम्शेरगन्ज — जैविक विविधता संरक्षणका चुनौती र अवसरबारे केन्द्रित “जैविक चौतारी” कार्यक्रम डिभिजन वन कार्यालयको सहकार्यमा युथ मिडिया हवद्वारा शम्शेरगन्ज सव डिभिजन वन कार्यालय प्रांगणमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका-८ का वडा अध्यक्ष शालिकराम डाँगीले समुदायस्तरमा जैविक विविधता संरक्षण गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, सामुदायिक वनका उपभोक्ताहरूलाई जैविक विविधता संरक्षणका सवालमा वडा कार्यालयबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै वन डढेलो नियन्त्रणका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो।
शिवशक्ति सामुदायिक वनकी उपाध्यक्ष भारती डाँगीले कार्यक्रम प्रभावकारी रहेको बताउँदै जैविक विविधता संरक्षणका लागि यसले सकारात्मक भूमिका खेल्ने उल्लेख गर्नुभयो।
शम्शेरगन्ज सव डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले जैविक विविधता संरक्षणका सवालमा विभिन्न चुनौतीहरू भए पनि वन तथा वातावरणसँग सरोकार राख्ने व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले प्रत्येक वर्ष वन डढेलोका कारण वन्यजन्तु र वनस्पतिमा नोक्सानी पुग्ने भएकाले सामुदायिक वनका सदस्यहरू सधैं सतर्क रहनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा शिवशक्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयस्तरबाट जैविक विविधता संरक्षणका लागि गरिएका प्रयासहरूबारे आफ्ना विचार प्रस्तुत गरेका थिए। विद्यालयका शिक्षक गणेश प्रसाद पोखरेलले जैविक विविधता संरक्षणको सचेतना जगाउन शिक्षालयहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
युथ मिडिया हवका कार्यक्रम संयोजक विजय परियारले जैविक चौतारी कार्यक्रमको आवश्यकता र यसको महत्वबारे जानकारी गराउनु भयो भने कार्यक्रमको सहजीकरण युथ मिडिया हवका निर्देशक हुमहरी भट्टराईले गर्नुभएको थियो।
कार्यक्रममा वन तथा वातावरणसँग सरोकार राख्ने ३५ जना सहभागी भएका थिए।